तिमी आफ्नै निद्रा सुत,
आफ्नै सपना देख
वरपर भो छोड!,
तिम्रो आफ्नै कथा लेख
बारुदका गोलाले चोइट्याउन नसक्ने
तिम्रा आफ्नाका अपेक्षाहरु छन
तिमी उपेक्षाको तोप पड्काउ,
ति सबको छल्नी गर ।
ग्लोबलाईजेसनको युग हो यो
सारा संसार तिम्रै देश हो
यहाँ सकिन्न सक्दै सकिन्न
झिटिगुन्टो टिप उतै भाग
यहाँ अभाव छ, उता अवसर
अभाव बाट, अवसरतर्फ लाग
धन कमाउ यथेष्ट कमाउ
यश कमाउ प्रशस्त कमाउ
भोग सबै, बिलास सबै
भोगबिलासमा तिमी रमाउ ।
पर्ख, बुझ्नु पर्ने एउटा सत्य छ
त्यो सत्यमा ध्यान लगाउ
जे सुरु भो त्यस्को अन्त्य छ
एक दिन त डुब्छ जिबन नाउ
बाँचुन्जेल पृथ्वी सारा तिम्रै हो
मरेपछी जाने कुनै होला ठाउँ
तिम्रा कर्मका हिसाब मागेर
बसेका होलान “इश्वर साहु” ।