उबेलाको दशैं!!!!

खुलेर गगन रङ्ग लिन्थ्यो निलो
सुकेर कक्रीन्थे सारा बर्षाको हिलो
महान चाडमा रम्दथ्यो पुरा देशै
अर्कै रमाइलो त्यो उबेलाको दशैं ।
 
महिनौं रोएर पाएको त्यो लट्टाइ
चङ्गा उडाउँदा कहिल्यै नलाग्ने पट्टाइ
चेट नहुन्जेल चङ्गा खुल्दैनथ्यो होसै
औधी ढुक्कको त्यो उबेलाको दशैं ।
 
डाँडाको लाँकुरिमा पिङ्गको त्यो लठारो
खानु पिउनु बिर्सिइ मच्चिने चटारो
सबै कुरा राम्रै सबै थोक बेसै
ओहो!रमाइलो त्यो उबेलाको दशैं ।
 
लामकाने खसिको त्यो लामो कान
पोलेर बुवाले दिए पछी खान
मन फुरुङ्ग हुन्थ्यो यसै त्यसै
सम्झिन्छु म त्यो उबेलाको दशैं।
 
भिरेर त्यो लि (जिन्स) को पाइन्ट नयाँ
उनेर क्यान्भास (कन्भर्स) उफ्रँदै दायाँ बायाँ
लाग्दथ्यो हिरोको झैं भो भेषै
अर्कै आनन्द त्यो उबेलाको दशैं ।
 
बाको काँध चढि मामाघर जाँदा
कस्तो मिठो हुन्थ्यो दहिचिउरा खाँदा
आशिषमा भन्दा दक्षिणामा थ्यो रसै
कस्तो अबोध त्यो उबेलाको दशैं ।
 
उमेरले थ्यो या समय थ्यो अर्को
धेरै साल भो दशैं आएन रहरको
अहिले आउँदा दशैं उमङ्ग हुन्न कसै
फेरी आए हुन्थ्यो त्यो उबेलाको दशैं ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *