कलमले लेख्छन लेख्नेहरु
लेख्छन यसरि कि
हजारौं तरबारहरु उठ्दछन्
उठ्दछन यसरि कि
हजारौँ गर्दनहरु काटिन्छन्
कलम हींस्रक बन्दछ कहिलेकाँहि
त्यसैले कलमकै लेखाइको प्रभावमा
उठ्दछन तरबारहरु ।
कलमले लेख्छन लेख्नेहरु
लेख्छन यसरि कि
लाखौँ मानिसहरु जाग्दछन्
जाग्छन यसरि कि
बर्बर तानाशाह समेत भाग्दछन्
कलम ब्युँताउछ सुतेका आत्मा कहिलेकाँहि
अनि, कलमकै लेखाइको प्रभावमा
ढल्दछन दरबारहरु ।
कलमले लेख्छन लेख्नेहरु
लेख्छन यसरि कि
गरीबको ॠणको तमसूक कोरिन्छन्
कोरिन्छन यसरि कि
ब्याज र स्याजको हिसाब जोडिन्छन्
कलम जालझेल गर्दछ कहिलेकाँहि
तब त, कलमकै लेखाइको प्रभावमा
लूटिन्छन घरबारहरु ।
कलमले लेख्छन लेख्नेहरु
लेख्छन यसरि कि
कती सत्तामा पुग्दछन्
पुग्दछन यसरि कि
राज्य श्रोतहरु सुक्दछन्
कलम भ्रष्टाचारी जन्माउँछ कहिलेकाँहि
त्यसैले कलमकै लेखाइको प्रभावमा
मौलाउँछ देशै डुबाउने भ्रष्टाचारहरु ।