बा भन्थे पानीजहाज चलाईदिन्छु देख्लास्
धानको बोटाँ घोगा मकै फलाईदिन्छु हेर्लास्
सबका भान्छाँ कुकिङ्ग ग्याँस पुर्याइदिन्छु भन्थे
पुल हाल्छु थोत्रा तुईन हुर्याइदिन्छु भन्थे
पटरी बिनै कुदाउँछन रे पूर्वपश्चिम रेल्
बाले बोले जे नि हुन्छ खाली मुखको खेल
बोल्ने मात्र गर्ने हैन, यसै उसै उर्लन्छन्
चर्को बोले हुन्छ भन्छन्, त्यसै त्यसै कुर्लन्छन ।
अर्काको घर भाँड्छु भन्दै नयाँ कानुन ल्याए
आज ल्याए भोलिपल्टै फिर्ता गर्न भ्याए
अंश खोज्ने भाईहरुलाई थाङ्नाँ सुताउँछन्
आफ्नो प्यारा छोराहरुलाई काँधमा मुताउँछन्
छिमेकिलाई गाली गर्छन बाले ल्याउँछन पारा
बालाई था’छ कहिले फाल्ने राष्ट्रवादी नारा
साँध मिच्यो छिमेकिले थाहा नै देनन अरे
जे मन लाज्ञो त्यही भन्छन हाम्रा बा न परे ।
गफ सुनेरै रमाइदिने छोराछोरी छन
लगभग लगभग ३ करोड भुराभुरी छन
गफाडी छन बा, खाली गफ लाईरन्छन
के पो गफ दिने भनि, गम खाईरन्छन
रमाईला टुक्का छोड्छन हँसाइरन्छन तर
हाम्रा बा झैं गफास्टक अरु को पो छ र
बालाई जती उखान-टुक्का कल्लाई आउँदो होला
गफ दिएरै सक्ने भए बा ले बाँकी चोला ।