
घर त्यहिं छ जहाँ घर छ
एउटा महल, एउटा छाप्रो, एउटा बङ्गला,
एउटा दरबार, एउटा हवेली, एउटा झुप्रो
जे सुकै नाम देउ घरलाई
घर भनेको घरै हो
घर त्यहिं छ, जहाँ घर छ ।
घर त्यहिं छ, जहाँ मन छ
जहाँ केही थान मुटुका टुक्रा छन
जहाँ केही थान साझा सपना छन
जहाँ केही थान पुर्खाको ईतिहास छ
जहाँ केही थान सन्ततिको भविष्य छ
घर त्यहिं छ, जहाँ घर छ ।
घर त्यहिं छ, जहाँ करेसाबारी छ
जहाँ सुस्ताउन पिंढी छ, पिँढीमा फलैंचा छ
जहाँ आँगन छ, आँगनमा तुलसिको मठ छ
जहाँ मझेरी छ, मझेरिमा अगेनो छ
जहाँ चुल्हो छ, चुल्होको माथी दियोघर छ
घर त्यहिं छ, जहाँ घर छ ।
घर त्यहिं छ, जहाँ घर छ
जहाँ मटान छ, मटानमा अन्नपात छन
जहाँ कोठा छन, कोठामा बाआमाको आभाष छ
जहाँ बुइगल छ, बुइगलमा कुलदेवीको बासस्थान छ
जहाँ धुरी छ, धुरिमा काग, भङ्गेरा, सारौं कराईरहन्छन
घर त्यहिं छ, जहाँ घर छ ।
घर त्यहिं छ, जहाँ पँधेरो छ
जहाँ गोठ छ, गोठमा गाईबाच्छाहरु छन
जहाँ बारि छ, बारिमा मकैका बोटहरु छ्न
जहाँ खेत छ, खेतमा धानका बाला लहलहाएका छन
जहाँ बगैँचा छ, बगैंचामा अम्बा, नास्पाती, हलुवावेद फलिरहेका छन
घर त्यहिं छ, जहाँ घर छ ।
घर त्यहिं छ, जहाँ घर छ
घर छोडेर टाढा हुँदा बसिरहने ठाउँ
घर हैन महज एउटा ठेगाना हुने रैछ
घरै जस्तो होस भन्ने अतृप्त चाहना हुने रैछ
घर भनेको घरै हो
घर त्यहिं छ, जहाँ घर छ ।