म असक्षम हुँ दुनियाँलाई थाहा छ
तपाईं त्यै कुरो छिचोल्दै हुनुहुन्छ
लायकै नभए पनि सर्बोच्च हुँ देशको
याद राख्नुस! तपाईं बढी बोल्दै हुनुहुन्छ ।
ज्ञान बिबेक कौशल क्षमता भएकाहरु झैं
हो कि यो पनि भनी के तोल्दै हुनुहुन्छ
हैन म, मलाई हुनुपनी पर्या छैन तर
होस गर्नुस! तपाईं बढी बोल्दै हुनुहुन्छ ।
भेडै हुन जनता तिनैले चुनेका हुन मलाई
लुकेको के छ र राज जो खोल्दैहुनुहुन्छ
म भन्दा बलियो को छ र यहाँ त्यसैले
ख्याल राख्नुस! तपाईं बढी बोल्दै हुनुहुन्छ ।
हिरा पाए ढुङ्गा बनाउने उल्टो कला छ मेरो
अजिबको मेरो कलालाई, के कम मोल्दै हुनुहुन्छ
मैले ढुङ्गा हिरा बनाउनु पर्ने अपेक्षा पो राख्ने ?
मुख सम्हाल्नुस! तपाईं बढी बोल्दै हुनुहुन्छ ।
जे गरी जसरि पनि पद नै खोजेको मैले भनि
सबैका कानमा किन बिष घोल्दै हुनुहुन्छ
साँचो बोले पनि तपाईंले मलाई रिस उठ्यो
चुप लाग्नुस! तपाईं बढी बोल्दै हुनुहुन्छ ।