नर्थ एटलान्टिक डायरि

पहिलो दिन

३७ देखी ४३ उमेरका पाँच जना युवा (अधबैंशे) हरु विश्राम-अवकाशका लागी आमदैनिकीलाई यसो पाखा लगाएर आफ्नो नियमित डेराबाट केहि सय किलोमिटर पर यात्राका लागी निस्किंदा तिनिहरुसँग त्यस यात्राबाट कस्तो किसिमको अपेक्षा रहला? यात्रा उन्मुख पाँचै जना यात्रुहरुको यात्रासँग समान अपेक्षा रहला? यि प्रश्नहरु जती सहज सुनिन्छन, यिनका उत्तर त्यती सहज छैनन्‌ । जिवन आफैंमा एउटा यात्रा हो जुन हरेक प्राणिले जन्मिएको क्षणबाट सुरु गरेर मृत्यु प्राप्त गरेपछी टुङ्गयाउँछ । तर, जिवन रुपी यात्राको हरेक यात्रुलाई यात्रा सुरु गर्दा आफ्नो गन्तव्य थाहा हुँदैन । यसो सोच्दा लाग्छ गन्तव्य को ज्ञान नभएको यात्रा सबै भन्दा उत्तम यात्रा हो । मृत्युको चेतना नहुन्जेल सम्म मानिसले पार गर्ने यात्रा सबै भन्दा सुखी यात्रा हो कि त? मैले पनि यसै भेउ पाउन सकेको छैन । दर्शन आफ्नै ठाउँमा रहोस्, अहिलेलाई प्रसङ्ग किन निस्क्यो भन्ने कुरोको उजागर गरौं ।

“हा~~~उ जाउँ हो, अटलान्टिक प्रदेश तिर घुम्न, समरमा नघुमे कैले घुम्ने”? साथी प्रकाशको प्रश्न सहितको प्रस्तावको यो आख्यानकार र प्रमोदले सहजै स्वीकार गरे । यात्राको उद्देश्य भ्रमण मात्र नराखी व्यवसाय प्रवर्द्धनका लागी समेत अलिकती समय छुट्ट्याउने सर्तमा साथी बिदुरको संलग्नता जोडियो । समवयी ४ जना मित्रहरुको सहभागिता रहने आफ्नो कर्मथलोको उत्तरपुर्वी क्षेत्रको असिमित प्राकृतिक सौन्दर्य सँग साक्षात्कार हुने अनुपम अवसर छुट्न नदिने इच्छा साथी टंकले व्यक्त गरेपछी भ्रमण टोलिको आकारले पूर्णता पायो । क्यानाडाका अक्सर मानिसहरुले तय गर्ने सप्ताहन्त भ्रमण तालिका भन्दा बिपरित आफ्नो भ्रमण अगष्टको २१, रविवार देखी २४, बुधवार सम्म सप्ताहको कार्यदिन भित्रै पार्ने टोली भित्र एकमत जुटेपछी गन्तव्य उन्मुख टोली एयर क्यानाडाको चिलगाडी समात्न अगष्टको २१ गते पियरसन बिमानस्थल तर्फ रवाना भयो ।

यात्राका लागी सबैभन्दा महत्वपूर्ण कुरा के हुन सक्ला? यात्रु, गन्तव्य, या यात्रुलाई गन्तव्य सम्म पुर्याउने माध्यम? यस यात्राका पाँचै जना यात्रुहरु यात्रा सुखको स्वार्थद्वारा प्रेरित थिए । गन्तव्यको आफ्नै स्वार्थ हुन्छ कि हुन्न, के थाहा ? यात्रुलाई गन्तव्य सम्म पुर्याउने माध्यमका भने आ-आफ्ना स्वार्थ हुन सक्ने भए तापनी साथी रामले निस्वार्थ रुपमा आफ्नो चार पाङ्ग्रेमा हामिलाई बिमानस्थल सम्म छोडिदिनु भएकाले र भ्रमण सकिएर फर्किंदा साथी कमलले एयरपोर्टसम्म लिन आउनुभएकाले भन्न करै लाग्यो, यात्रु र गन्तव्य जोड्ने सबै माध्यम स्वार्थी हुँदैनन । उहाँहरु दुबैलाई साधुवाद!