जिवनयात्रा र जिवनयात्राको क्रममा गरिने अन्य यात्राहरु धेरै कुराहरुले समान हुन्छन र ति मध्ये एक हो, अनिश्चितता । यात्राको योजना बनाउँदै गर्दा सुनिश्चित गरिएका यात्राका हरेक पक्ष सम्पूर्ण रुपमा सुनिश्चित नहुन पनि सक्छन्, अर्थात यात्रु, गन्तव्य, माध्यम तथा यात्रा सँग जोडिएका अन्य अवयवहरुमा अनिश्चितता सँगसँगै जोडिएर आएको हुन्छ । पुग्छु भनेको गन्तव्यमा नपुग्न सकिन्छ, यात्रुहरु फेरबदल हुन सक्छन्, यात्रा अवधिमा कुनै यात्रुले बिचैमा यात्रा टुङ्ग्याउनु पर्ने हुनसक्छ अनि यात्रा गर्न तय गरिएका समयहरु अघिपछी हुन सक्छन ।

सम्पूर्ण यात्रा अवधिको कुनैपनी क्षणमा अनिश्चितताको प्रभाव पर्न सक्छ । त्यस्ता प्रभावहरु सुखद र दुखद दुबै हुन सक्छन । यात्राको सुरुवातमा हामिले दुई किसिमको अनिश्चितताको प्रभावको सामना गर्यौं । साथी टंकको हामी भन्दा एक घन्टा पछाडिको उडानलाई अघी सारेर हामी ४ जना सँगैको उडानमा मिलाईदिने अनुरोध एयर क्यानाडाले स्वीकार गरेकाले सहयात्री छुट्टिन नपर्ने भएपछिको सुखद प्रभाव र निश्चित समयको उडान करिब एक घण्टा विलंब हुने भएपछिको दुखद प्रभाव । जे होस करिब दुई घण्टाको उडान भरेर नोभा स्कोसिया अर्थात नयाँ स्कटल्याण्डको स्ट्यानफिल्ड बिमानस्थलमा अवतरण गरेर बाहिर निस्किँदा समय साँझको लगभग ९ बजेको हुँदो हो] । सोचे अनुरुप भन्ने बितिक्कै पाँच जना लाठे यात्रुहरु चढ्न मिल्ने उबर वा ट्याक्सी नभेटेकाले यात्रा–योजनाकार र पछी हामिले यात्रा व्यवस्थापकको पदवी भिराईदिएका साथी प्रकाश दवावमा देखिन्थे । उनले पनि थपक्कै व्यवस्थापनको जिम्मेवारी स्विकारेकाले हामी बाँकिको काम चै उनलाई जाबो सुरुवाती परिवहन कै व्यस्थापन गर्न नसक्नेले बाँकी यात्राको व्यवस्थापन के गरौला भनेर खिज्याउने र कस्तो ठाउँ रैछ भनेर ठाउँलाई सराप्ने बाहेक अरु रहेन । धन्यवाद कि पात्र भईन् स्टानफिल्ड विमानस्थलकी कर्मचारी महिला जो हामी जस्ता विमानस्थल बाट बाहिर निस्किने यात्रुहरुको सवारिको व्यवस्थाको लागी खटिएकी रहिछन । हामीले माइजु भनेर साईनो भिराईदिएकी ति महिलाले एउटा ७ सिटे भ्यान डाकिदिएपछी विमानस्थल मै सुत्नु पर्ने भो कि के हो भन्ने हाम्रो संशय समाप्त भयो ।
करिव आधा घन्टा पर रहेछ हाम्रा व्यवस्थापकले पहिल्यै बूक गरेको हाम्रो त्यस रातको वासस्थान, चाट्यु बेडफोर्ड होटेल। होटेल पुगुन्जेल सम्म हामिलाई बोक्ने भ्यानका मालिक (चालक) लेबनानी मुलका मोहम्मदसँग भलाकुसारी गर्यौं र ह्यालिफ्याक्स शहर, त्यहाँका घुम्नै पर्ने ठाउँहरु, हामी बस्ने होटेलबाट डाउनटाउन सम्मको दुरी र दिशा, रात परिसकेकाले हातमुख जोड्न पाइने उपयुक्त ठाउँ आदिका बारेमा आधारभूत जानकारी लियौं । मोहम्मदले सानै शहर भएपनी उनि ह्यलिफ्याक्समा खुशी रहेको बताए । मैले सोचें, मोहम्मदले ढाँटे । शहर होस कि गाउँ, ठुलो होस कि सानो, मानिस खुशी पनि हुन्छ र दुखी पनि । जिवन गतिशील छ र अघी पछी गरेर मानिसले दुख-सुख दुबै भोग्नु पर्छ । भोली पल्ट लाग्यो, मैले स्वीकारिदिएको भए हुने मोहम्मद खुशी मात्र भएको कुरो । तर म लालबुझक्कड! मलाई त्यसै समयमा अनावश्यक दर्शन फुर्यो । मैले नगरेको भए हुने भन्ने सुचिमा एउटा नयाँ कुरो थपियो । चेक इन गरेर चाट्यु बेडफोर्ड होटेलको ३१७ नंबरको एशफोर्ड नाम दिईएको शयनकक्षमा छिरेपछी हामी सबैले पालो-पालो गरेर सुखको सुस्केरा काढ्यौं । होटेल नै भएपनी त्यस रातको लागी त्यो हाम्रो घर थियो । घर पुग्दा सुखको अनुभव कसले नगर्ला र ? आईतबारको दिन रातभरी ड्युटी गर्नु पर्ने भो भनेर हो या उसका अन्य कुनै समस्या थिए, होटेलको रिसेप्सनमा हाम्रो आगमनको स्वागतमा बसेको कर्मचारीले होटेल व्यवसायमा देखाउनै पर्ने शिष्टाचार नदेखाएको महसुस हामी सबैले गर्यौं तर हाम्रो उत्साहमा त्यसले खासै प्रभाव पारेन । उल्टो हामिले उसको त्यस बखतको स्वभाव प्रती उसले थाहा नपाउने गरी कटाक्ष गरेर केहि क्षण मनोरन्जन गर्यौं । यात्रामा हरेक किसिमका निश्चित प्राय सोचिएका पक्षहरु सम्पूर्ण रुपमा निश्चित हुँदैनन भनेर मैले केहि अघी गरेका कुरा फेरी यहाँ पनि मिल्न आयो ।
होटेल वरपर मनग्गै जलपान गृह होलान र छानिछानी स्वादे जिब्रोको तिर्सना मेटाउन पाइएला भन्ने हाम्रो निश्चिन्तता बसेको होटेलमा खानपिनको व्यवस्था नभएको र वरपर समेत त्यस्ता ठाउँहरु नदेखेपछी केहि समयको लागी चिन्तामा परिवर्तन भयो । छेवै को टिम होर्टोन्स ठ्याक्कै बन्द गरेको बेला परेछ; सडक पारी एउटा ठुलो खालको पिज्जा स्टोर पनि बन्द नै भेटियो । धन्न, टिम होर्टोन्स कै आडमा अर्को एउटा सानो खालको पिज्जा स्टोर भेटिएकाले त्यसैमा छिरेर हामिले तारेका आलु, पिज्जा र कुखुराका तारेका पखेटाहरु बुक्यायौं। हामिले छोडेको अन्टारियो प्रान्त भन्दा बिपरित नोभा स्कोसिया प्रान्तमा त्यस्ता पिज्जा स्टोरमा बियर पनि बेच्न पाईने भएकोले हामिले आँतको भोक र तिर्खा दुवैको शमन गर्न पायौं । केहि बेर त्यही रेस्टुरेन्ट अगाडिको चौरमा बसेर पुरुषस्तरिय कुरा गरे पछी होटेलको शयनकक्षमा गएर त्यसदिनको यात्रालाई बिट मार्यौं र अघिल्लो दिनको यात्राको सुखद कल्पनामा निद्रा देवीको शरणमा पसारो पर्यौं; समय रातको करिब १२ बजेको हुँदो हो ।