दोश्रो दिन
बिदुरले अघिल्लो रात खाएका तारेका पखेटा भाले कुखुरोको परेछ कि कुन्नि, उनको निद्रा बिहान चारै बजे खुलेछ । एउटै शयनकक्षमा सुतेका ५ जना मध्ये एकको निद्रा खुलिसकेपछी अरु सुत्न पाउने त कुरै थिएन । पालो पालो गरेर हामी सबैले आ-आफ्नो निद्रालाई त्यसदिनका लागी पूर्णविराम दिन करै लाग्यो । होटेलको प्याकेजमा बेड सहित ब्रेकफास्टको प्रवन्ध रहेकाले सबैले आफ्नो ७ घन्टाको फास्ट लाई त्यहिं ब्रेक गर्यौ । हामिले ३ दिन अटलान्टिक प्रदेशहरु भित्र विचरण गर्नका लागी भाडाको ७ सिटे गाडी बूक गरेका थियौं । त्यसैको यात्रा अवधी भरको स्वामित्व ग्रहण गर्न हामिले ह्यलिफ्याक्स शहर पारी डार्टमाउथ भन्ने ठाउँ सम्म करिव आधा घन्टाको यात्रा तय गर्नु पर्ने भएकाले व्यवस्थापक प्रकाशले करिव १६ मिनेट पर रहेको उबर बुक गरेका थिए । उबर आइपुग्ने समयको सदुपयोग गर्न हामिले यात्रालाई सम्झनामा कैद गर्न केहि स्थिर तथा केहि चलायमान तस्विरहरु लियौं । न अघी न पछी ठ्याक्कै १६ मिनेटमा प्रकाशले बूक गरेको उबर “डोज क्याराभान” होटेलको प्राङ्गणमा आइपुग्यो । मामावा नाम गरेकी अफ्रीकी मुलकी हँसिली उबर चालक मिजासिली अनि फरासिली रैछ । केहि हाम्रा कुरा र केहि उसका कुरा गर्दै हाँसो ठट्टामै डार्टमाउथ स्थित इन्टरप्राइजको कार्यालयमा पुगेर हामिले भाडाको गाडीको सांचो लियौं । बिदुरले आफ्नो मात्र सवारी इजाजतपत्र दाखिल गरेर यात्रा भरिको सडक परिवहनको जिम्मेवारी ग्रहण गरे । डिक्किमा झोलातुम्ला राखेर भ्यान भित्र चढिसकेपछी चालकसँगै अघिल्लो सिटमा बसेका व्यवस्थापक प्रकाशले जिपिएसमा हामिले पुग्ने ठेगाना दाखिला गरेपछी सुरु भयो हाम्रो नोभा स्कोसिया देखी न्यु ब्रुन्स्विक सम्मको यात्रा । दोश्रो दिनको रातको बसाई न्यु ब्रुन्स्विकको राजधानी फ्रेडेरिक्टन स्थित बेस्ट वेस्टर्न प्लस होटेलमा हुने तय थियो । फ्रेडेरिक्टनमा लामो समय देखी सपरिवार बस्दै आउनु भएका साथी बिदुरका पारिवारिक मित्र रेवतिको निमन्त्रणा पनि भ्याउनु थियो । एकोहोरो कुदाईराखौं, मार्गमा पर्ने हेर्नै पर्ने विशिष्ट स्थानहरु छुट्ला भन्ने पिर, रोक्दै हेर्दै जाउँ, समयमा फ्रेडेरिक्टन पुग्न नसकिएला भन्ने संशय ! त्यसैको निवारणका लागी र गलत बाटो नछिरियोस भन्नका लागी व्यवस्थापक प्रकाश हरसमय मोबाईलको गुगल नक्सालाई दुई औँलाले तलामाथि गर्दै जूम इन र जूम आउट गरिरहन्थे । मोबाईलको स्क्रीन नभैकन कागजको नक्सा हुँदो हो त नक्सा झुराझुरा भैसक्दो हो भनेर हामी ठट्टा गर्दै यात्रामा तल्लिन थियौं ।
एनएस १०२ राजमार्गको १०३ किलोमीटर पार गरिसकेपछी हामी छोटो विश्रामका लागी राजमार्गको छेउमा रहेको मासटाउन बजारमा पुग्यौं । समूहका सबैभन्दासक्रिय र शिपालु टिकटकर बिदुरले नयाँ ठाउँ भेट्ने बित्तिक्कै २-४ वटा टिकटक भिडियो बनाईहाल्थे, त्यहाँ पनि बनाए । संसारकै सबैभन्दा धेरै सांष्कृतिक विविधता भएको शहर टोरोन्टो बाट गएका हामिलाई मासटाउनमा हामी मात्रै खैरो छालामा देख्दा अलिकती अनौठो लाग्यो । फ्रेडेरिक्टनका मित्र रेवतिसँग दुरभाष यन्त्रमा कुरा हुँदा बाटोमा पर्ने होपवेल रक्स भन्ने स्थानको अवलोकन छुटाउन नहुने सुझाव पाएपछी हाम्रो अर्को गन्तव्य त्यही बन्ने निर्णय भयो । व्यवस्थापक प्रकाशले गूगल नक्सा फेरी दुईं औँलाले च्याते र पत्ता लगाए होपवेल रक्स न्यु ब्रुन्स्विकको सानो शहर मोन्क्टोन देखी करिव ४० किमी दक्षिणमा पर्ने रहेछ जुन हुँदै हामी फ्रेडेरिक्टन पुग्न सक्ने रहेछौं । ट्रान्स क्यानाडा राजमार्ग हुंदै जाँदा ला प्लाँच (La Planche) भन्ने नदिले नोभा स्कोसिया र न्यु ब्रुन्स्विक छुट्याउँदो रहेछ जहाँबाट राजमार्ग नछोडी ६० किलोमिटर उत्तर पश्चिम यात्रा गरेपछी हामी मोन्क्टोन पुग्यौं । मोन्क्टोन पुगिसकेपछी होपवेल रक्स तिर जाने बाटो भुलेर हामिले शहरको एक चक्कर काट्न पायौं । कहिलेकाहिं बाटो बिराउँदा राम्रै पनि हुने रहेछ । होपवेल रक्स छिचोल्ने बाटो उकालो-ओरालो हुँदै अघी बढिरहेको थियो । ठाउँ ठाउँमा स-साना पुराना बस्तिहरु जस्ता देखिने बजारहरु पनि भेटिए । हामिलाई त्यस बाटोले थोरबहुत भए पनि नेपालको झल्को दियो । मोन्क्टोन छोडेदेखी नै साथी टंक र मलाई भने त्यस बाटोको बायाँ भएर बग्ने एउटा ठुलो धमिले नदिले एकदमै जिज्ञासामा राखेको थियो । त्यो नदी किन त्यती धमिलो छ र कहाँ गएर मिसिन्छ होला ? भन्ने प्रश्नको उत्तरका लागी हामीले धेरै थरिका अनुमानहरु लगायौं, तर होपवेल रक्स पुगिसकेपछी मात्र थाहा पायौं स्थनियहरुले चकलेट रिभर भन्ने छद्म नाम दिएको पेतितकोडियाक नाम गरेको त्यस नदी होपवेल रक्स रहेकै ठाउँमा गएर “बे अफ फण्डि” मा गएर मिसिने रहेछ । यात्राका कतिपय जिज्ञासाको उत्तर गन्तव्य आफैंले दिदों रहेछ भन्ने कुरा त्यस बखत थाहा भयो ।
हजारौं बर्ष देखी बे अफ फण्डिमा उर्लने बिशालकाय ज्वारभाटाहरुका शक्तिशाली प्रहारले होपवेल केप भन्ने स्थानका चट्टानी पर्वतलाई खोप्दै आइरहेकाले ति पर्वतका केहि अंशहरु (होपवेल रक्स्) छुट्टिएर कुनै निपुण मुर्तिकारले कुँदेका सुन्दर अलौकिक मुर्तिहरु जस्ता देखिन्थे । त्यस्ता अंशहरुलाई अङ्ग्रेजिमा “सि स्ट्याक्” भनिंदो रहेछ र तीनलाई तीनका आकार अनुरुप एलेफेन्ट, बेयर, डाइनोसर, एक्स्ट्रा टेरेस्ट्रीयल र मदर-इन-ल जस्ता नाम दिइएको रहेछ । हामिले त्यहाँका कुनै पनि भागहरु नछुटुन भन्ने ध्यान पुर्याएर दृष्यहरुलाई आफ्नो स्मार्टफोनको क्यामेरामा कैद गर्यौं र बाटो छिचोल्नै पर्ने करले त्यहाँबाट फर्कियौं । आफूलाई छोड्न मन नलागेको ठाउँ पनि छोड्नै पर्ने बाध्यता नै यात्राको सबैभन्दा चित्त दुख्ने पक्ष हो कि त ? तर, यात्राका धेरै गन्तव्य हुन्छन । एउटा नछोडी अर्कोमा पुग्न सकिंदैन क्यारे!
होपवेल रक्स छोडेर चार पाङ्ग्रेमा सवार भएपछी हामी फ्रेडेरिक्टन जाने बाटो तिर अगाडी लम्कियौं । अगाडी बढ्दै गर्दा व्यवस्थापक प्रकाशले गूगल अनुसंधान मार्फत केहि सय किलोमिटरको दुरिमा एटलान्टिक महासागरको तिरैमा रहेको पुरानो शहर सेन्ट जोन सम्म पुगौं भन्ने प्रस्ताव राखे । टंक, प्रमोद र मैले उनको प्रस्तावमा सहमती जनायौं । हाम्रा सारथी बिदुर भने सकेसम्म चाँडो फ्रेडेरिक्टन पुग्न चाहन्थे । धेरै पछी भेट हुने आफन्त रेवती र उनका परिवार बिहानै देखी हामिलाई कुरिराखेको र त्यहाँ पुगेर आफूले भर्खर सुरु गरेको बिग ब्याङ्ग इमिग्रेसन कन्सल्टिङ्गको बजार प्रवर्द्धनको एउटा महत्वपूर्ण मिटिङ गर्नु पर्ने भएकाले उनि अन्त नअल्मलिई सोझै फ्रेडेरिक्टन पुगौं भन्ने मनसायमा थिए । तर, टोलिका चारै जना सदस्यले सेन्ट जोन जाने उत्कट ईच्छा प्रकट गरेपछी उनले पनि खुशी-खुशी साथ दिने भए । आफ्ना इच्छा थाँती राखेर सहयात्रीका चाहना पुर्याउन साथ दिने पो साथी!
सेन्ट जोन जाने निर्णयले कत्ती पनि निरास पारेन बरु अलि अघी नजाने मानसिकता बोकेका साथी बिदुर नै त्यहाँ पुग्दा अझ बढी खुशी देखिए । बे अफ फण्डिको सानिध्य पाएको उत्तरी एटलान्टिक क्षेत्रको एक मात्र शहर सेन्ट जोन आफैंमा एउटा अभूतपूर्व सौन्दर्यले भरिपूर्ण शहर रहेछ । विकसित तर शान्त अनि क्यानाडाको सांस्कृतिक शहर भनेर कहलिएको यस शहरको बिचैबाट बग्ने सेन्ट जोन नदी बे अफ फण्डिमा मिसिंदा प्रकृतिको एक अद्वितिय प्रकृया सँग साक्षात्कार गर्न पाईने रहेछ, जसको बारेमा हामी मध्ये कसैलाई पनि थोरै जानकारी समेत थिएन । रिवर्सिङ्ग र्यापिड नाम पाएको यस प्रकृयामा न्युन ज्वारको बेलामा सेन्ट जोन नदिको पानी बे अफ फण्डिसँग ठोकिंदा शृंखलावद्ध र्यापिड्स् (उतार) एवं भुमरिहरु पर्ने रहेछ भने उच्च ज्वारको समयमा बे अफ फण्डिबाट उर्लेको ज्वारको शक्तिले सेन्ट जोन नदिको धारलाई निस्तेज पारेर पुरै नदिको वहावलाई उल्ट्याईदिने रहेछ । अघिल्लो पटक झैं ठ्याक्कै समय नमिलेका कारण हामिले यो पटक पनि त्यो अभूतपूर्व दृष्य हेर्न सकेनौं र कमसेकम नयाँ कुरा थाहा पायौं भनेर चित्त बुझाउँदै त्यही हेर्न भएपनि सेन्ट जोन शहरको भ्रमण एकचोटि फेरि गर्नै पर्ने निस्कर्ष निकाल्यौं। रिवर्सिङ्ग र्यापिड अवलोकन गर्ने स्थानलाई छोडेर हामि सेन्ट जोन शहरको “बे शोर बिच” गयौं जहाँ मैले जिवनको पहिलो चोटि महासागरको जलस्पर्श गरें । समुद्रको पानी साँच्चिकै नुनिलो हुन्छ र भन्ने जिज्ञासाको समाधानका लागी हामी पाँचै जनाले एटलान्टिक महासागरको केहि थोपा जल हत्केलामा राखेर सुरुपसुरुप आवाज निकालेर आचमनी गर्यौं । हो त, नुनिलो नै हुने रहेछ । यात्राले मनोरन्जन मात्र गराउँदैन, धेरै कुराको शिक्षा पनि त दिन्छ !
सेन्ट जोन को त्यस बिन्दु सम्मको यात्रामा आफ्नो देखाई/भोगाई बाट म त्यस शहरबाट यती प्रभावित भएँ कि मैले टोरोन्टो छोडेर अन्यत्र कतै बसाईं सर्ने भैयो भने त सेन्ट जोन नै आउनु पर्छ कि क्या हो भनेर कल्पना गर्न समेत भ्याएँ! महासागरको त्यही तटमा कुनै एउटा कुरामा टंक र प्रकाशको बाजी पर्यो । बाजी हार्नेले उच्च ब्राण्डको मदिरा किन्नु पर्ने सर्त राखियो । “पाडो पाए नि पाडी पाए नि भतुवालाई बिगौति” भने जस्तो हामिले दुबैलाई हौस्यायौं । अन्तत: बाजिको टुङ्गो लाग्यो, बाजी प्रकाशले जिते । मैले ग्रीन लेबल सुरुप्प पारेको एउटा अर्को कल्पना गरेर एकै छिन पुलकित भएँ । मीन राशि हुनेहरु बढी कल्पनाशील हुन्छ्न भन्छन ग्रहमा विश्वास राख्नेहरु । आफुलाई हेर्दा सत्य हो जस्तो लाग्छ ।
सेन्ट जोन बाट फ्रेडेरिक्टन पुग्ने सबै भन्दा छोटो बाटो एनबी राजमार्ग-०७ लिएर करिव सवा घन्टाको यात्रा गरे पश्चात हामी साँझको ८:३० बजे फ्रेडेरिकटन स्थित बिहानै देखी हामी आउने अपेक्षामा रहेका बिदुरका पारिवारिक मित्र रेवतिको घरमा पुग्यौं। पाहुना सत्कारका लागी उनले न्यु ब्रुन्स्विककै स्वाद चखाउनु पर्छ भनेर स्थानिय बियर किनेका रहेछन । पिउने बानी परेकाले एक एक क्यान बियर सहित खाजा र नपरेकाले खाजा मात्र खाएर हामी त्यस दिनको बिश्रामस्थल होटेल बेस्ट वेस्टर्न प्लसमा पुग्यौं, चेक ईन गर्यौं र आ-आफ्ना झोला शयनकक्षमा फुत्त फालेर फ्रेडेरिक्टनको डाउन टाउन घुम्ने मनशायले मित्र रेवती र उनका भाई ओम समेत भएर त्यतै तिर लाग्यौं । १० बजे तिर डाउनटाउन पुग्दा शहरका पुरै पसलहरु बन्द भेटिए । भ्यान एकातिर खडा गरेर करिव १५ मिनेट जती डाउनटाउनको मध्य भाग क्विन स्ट्रीटमा टहलिँदा केहि टिनएजर केटाहरु स्केटिङ गरिरहेका भेटिए, एक दुई मायाका जोडी रात्रीशयर गरिरहेका देखिए, एक दुई जना युवाहरु सडक किनारको पार्कमा धुवाँ उडाउँदै थिए भने एउटा पुरानो लाईटहाउसमा रहेको पबका केहि टेबलमा मानिसहरु सोमबार मनाउँदै थिए । ताज्जुब लाग्यो, हामिले सेन्ट जोनमा छोडेर आयौं भनेको सेन्ट जोन नदी त त्यहाँ पनि भेटियो, त्यो त्यहिं बाट दक्षिण लाग्दो रहेछ ।
फ्रेडेरिक्टनमा प्रान्तको प्रीमियर बस्ने घर देखिने बाटो हुँदै हामी हाम्रा आतिथेय रेवतिको निवासमा रात्रीकालिन भोजनका लागी जाँदै गर्दा केहि पर रहेको मदिरालय पुग्यौं जहाँ पुगेर टंकले आफुले अघी एटलान्टिक महासागरको तटमा प्रकाश सँग हारेको बाजी वापतको सर्त पुरा गर्न एक बोटल ब्ल्याक लेबल किने । प्रकाशले बाजी जिते, टंकले हामी सबैको मन । आखिर कोही हारेन । रेवती निवासमा उनकी धर्मपत्नी लताले पकाएको भात, दाल, तरकारि, अचार खान पाउँदा तीन छाक सम्म आफ्नो मुख्य भोजन खान नपाएको कुन्ठाको निवारण सबैले एक एक थाल थपेर गरे । अतिथी सत्कारमा रेवती परिवारले कुनै कमी देखाएनन । हामी प्रसन्न थियौं, त्यो भन्दा बढी पाहुना सत्कार गर्न पाउँदा उनिहरु खुशी देखिन्थे । उनिहरुलाई धन्यवाद दिएर हामी होटेल तर्फ लाग्यौं । शयनकक्षमा पुगेर मैले बाजिले जुराएको ब्ल्याक लेबलको सानो एक पेग बनाएँ । एक चोटी मात्र गिलास उचालेर मुखसम्म लगेको थिएँ क्यार, सबेरै पाँच बजे उठ्दा पलङ छेउको साईड टेबलमा गिलास जस्ताको तस्तै देखियो, ज्या !
तेस्रो दिन
दोश्रो दिनको दिनभरिको चार पाङ्ग्रेको यात्रा अनि ठाउँ ठाउँमा दृष्यावलोकनका लागी पैदल हिंड्नुपरेका कारण अघिल्लो दिनको बिपरित हाम्रा अलार्म घडी बिदुर पनि सात बजे सम्म घुर्न भ्याएछन । सातै बजे उठेका भए पनि हामी मध्ये पहिलोउनै थिए र उनैले हामिलाई उठाए । अघिल्लो दिन टोरोन्टोमा मज्जाको बर्षा भैरहेको जानकारी पाएका हामीले त्यस दिन बिहानै आफ्नो शयनकक्षको झ्यालबाट होटेल बाहिर पानी दर्किरहेको देख्यौं । टोरोन्टोमा हामिलाई नभेटेर बर्षा पनि हामिलाई खोज्दै फ्रेडेरिक्टन आइपुगेछ कि त? सबले बिहानै को नित्यकर्म सकेर होटेलको लबिमा झर्दा पानी सिमिसिम परिरहेकै थियो । हामिलाई भेट्न आएको बर्षालाई भेटौं न त भनेर हामिले सिमसिमे पानी मै ८-१० वटा तस्विरहरु लियौ । होटेलमा उपलव्ध कन्टिनेन्टल नास्ता ग्रहण गरिसकेर हामिले फ्रेडेरिक्टनसँग बिदा माग्यौं र सोझियौं ट्रान्स क्यानाडा राजमार्ग/एनबि-२ राजमार्ग तिर जहाँबाट हामिले प्रीन्स एडवार्ड द्विप को राजधानी चार्लोटटाउन पुग्न ३३० किलोमिटरको यात्रा तय गर्नु थियो । हाम्रो तेस्रो दिनको कार्यक्रम न्यु ब्रुन्सविक हुँदै प्रीन्स एडवार्ड द्विपको राजधानी चार्लोटटाउन दिनभरी घुमेर राती सुत्नलाई नोभा स्कोसियाको ह्यालिफ्याक्स पुग्ने भन्ने थियो । क्यानाडाको १० मध्ये तीन प्रदेशमा हामी एकै दिन यात्रा गर्दै थियौं, त्यो पनि तीनै प्रदेशको राजधानी घुमेर । ह्यालिफ्याक्स मा हाम्रा व्यवस्थापक प्रकाशले पहिले नै माउन्ट सेन्ट विश्वविध्यालयको रेसिडेन्स भवनमा दुई वटा शयनकक्ष बुक गरिसकेका थिए । पृन्स एडवार्ड द्विपबाट नोभा स्कोसिया छिर्न कुनै अमुक स्थानबाट एटलान्टिक महासागरमा फेरी जहाज चल्छ जसमा हाम्रो चारपाङ्ग्रे र हामी पाँच सबै अटाउँछौं भन्ने सामान्य जानकारी हामिलाई थियो । टोरोन्टो आइल्याण्ड जान हामिले मानिस अटाउने साना फेरी चढेकै थियौं । तर मानिस, मानिसका सवारी साधन र ठुला ठुला कार्गो ट्रक समेत त्यसैमा अटाउँछन भन्ने सुनेकाले त्यो फेरी चढ्न हामी एकदम उत्साहित थियौं ।तय गरिएको यात्रा आधाआधी सकिईसकिएको थियो तर हाम्रो उत्साह भने झन बढेर दुई गुणा भएको थियो ।
चार्लोटटाउन जाने क्रममा फ्रेडेरिक्टनबाट अलिकती अघी बढ्ने बित्तिकै म भने भुसुक्कै निदाएछु र चर्को स्वर निकालेर घुर्न थालेछु । सहयात्री साथिहरु मेरो घुराई सुनेर बाघ आएछ कि के हो भन्दै हाँसिरहेको मैले निद्रा मै कता कता भेउ पाए जस्तो लागेपछी म अवचेतना मै घुर्न बन्द गर्दो रहेछु । एक डेढ घन्टा राजमार्गको बाटो तय गरेपछी निद्राबाट ब्युँझेर राजमार्ग कै शेडियाक भन्ने ठाउँ तिरको “अन रुट” मा रहेको टिम होर्टोन्समा कफिको लागी रोक्ने हो कि भनेर मैले बिदुरलाई आग्रह गरें । उनले अब कफि पृन्स एडवार्ड द्विप मै पुगेर खाउँ न हुन्न भनेर भनेर हामिलाई मनाउने प्रयास गरे। गाडिलाई यताउता घुमाउने स्टेरिङ्ग उनका हातमा र गाडी रोक्न चाहिने ब्रेक उनैका खुट्टामा भएकाले मैले आफ्नो मुख मात्र चलाएर नहुने देखें र कफी उच्चारण गर्न छोडिदिएँ । “यु ह्यव अल्वेज गट टाइम फर टिम होर्टोन्स” भन्ने टिम होर्टोन्सको ट्याग लाईन सबैका लागी सान्दर्भिक नभए पनि म जस्ता कफी प्रेमी (व्यसनि) का सन्दर्भमा भने ठ्याक्कै मेल खान्छ । हुन पनि कफिको तृष्णा जाग्दाको बेलामा ”हा! ढिला भए होस्, एक कप टिम्स त हानेरै जाउँ” भन्ने डाइलग मेरै मुखबाट बढी निस्किरहेको हुन्थ्यो ।
शेडियाक बाट अघी बढ्दै गर्दा त्यहाँबाट करिव ७३ किलोमिटरको दुरिमा एउटा अर्को विशिष्ट मानव निर्मित संरचनाले हाम्रो बाटो कुरिरहेको थियो । त्यो हो कन्फेडेरेसन ब्रीज अर्थात महसंघिय सेतु । क्यानाडाको मेरिटाईम क्षेत्रका दुई प्रान्तहरु न्यु ब्रुन्स्विक र पृन्स एडवार्ड द्विपलाई जोड्ने १२.९ किलोमिटर लम्वाईको विशालकाय उत्तरी एटलान्टिक महासागर माथी निर्माण गरिएको यस सेतु बिसौं सताव्दिमा क्यानाडाली ईन्जिनियरिङ्गग विकासमा भएको उच्च कोटिको उपलव्धीको रुपमा अझै सम्म पनि प्रशंसनिय छ । करिव पाँच हजार कामदारले चार बर्ष लगाएर निर्माण सम्पन्न गरेको कन्फेडेरेशन ब्रीज २५ बर्ष अघि मे ३१, १९९७ मा सर्वसाधारणको प्रयोगको लागि खुला गरिएको थियो । रजत जयन्ती मनाईसकेको सेतु परिवहनका लागी खुला गरेपछी त्यहाँबाट करोडौंले ओहोरदोहोर गरिसके हुँदा हुन्, त्यो मौका त्यसदिन हामिले पनि पाएका थियौं । एकैछिन पुल वारी बाट पुल, पानी र वरपरको प्रकृती नियाले पछी हामी ट्रान्स क्यानाडा राजमार्गको एक महत्वपूर्ण ल्यान्डमार्कमा प्रवेश गर्यौं । सेतुको मुखैमा बिदुरले आफ्नो गो प्रो को रिकर्डिङ क्यामेरा खोलेका थिए त्यसैले त्यसको विशालतालाई गो प्रो को भिडियोमा र आ-आफ्नो नजरमा कैद गर्दै करिव १४ मिनेटमा हामी सेतुको अर्को छेउ पुग्यौं ।
पृन्स एडवार्ड द्विप टेक्ने बित्तिक्कै बिदुरले सबैभन्दा अगाडी देखिएको टिम होर्टोन्सको पार्किङ्गमा गाडी छिराए । अनि आफैं ओर्लेर सबैको लागी चिया कफी र टिमका गुलिया पिठाका डल्ला (टिम बिट्स) किने । कफिको एक सुर्कोले जिब्रो छोए लगत्तै मैले सन्तुष्टिको एउटा सुस्केरा छोडें । (दुर्)व्यसन भन्ने कुरो पनि अचम्मैको हुन्छ नमिलुन्जेल यसले व्यसनिको दिमागलाई त्यसैमा घुमाई राख्छ र अन्य सोचलाई अवरुद्ध पारिदिन्छ । दुर्व्यसनमा नपरेकै बेस ! टिम्सबाट निस्किएर हाम्रो वाहन फेरी ट्रान्स क्यानाडा राजमार्ग मा हुइँकिन थाल्यो । बाटो मा एकोहोरो कुदिराख्नु भन्दा केहि बेर बिचमा रोकेर प्रकृती नियाल्दा भ्रमण अझै उपलव्धिमुलक हुने सोचेर बिदुरले चार्लोटटाउन नपुग्दै एउटा सडकको दायाँ-बायाँ नै बिशाल क्षेत्रफलमा फैलिएका आलुका खेतहरु भएको ठाउँमा गाडी रोके । जमिन कतै आलुका बोटहरु ले भरिपूर्ण भएर हरिया र कतै झुलिरहेका पाकेका गहुँका बालाहरुका कारण सुनौला देखिन्थे । दृष्य मनमोहक थियो, तस्विर नलिईकन के मन मान्थ्यो? अझ टंकले त त्यहाँको एउटा खेतमा गहुँका छ्वाली बेरेर बनाएका गोलामाथी चढेरै एक दुईवटा पोज दिन भ्याए । उमेर जतिसुकै बढ्दै गए पनि मानिस भित्रको एउटा सानो अंश बालकै रहन्छ जुन उसले तब मात्र बाहिर निकाल्छ जब उसका साथमा उ भित्रकै जती उमेरका बालकहरु लुकाईरहेका उसकै उमेरका वयस्कहरु हुन्छन । पृन्स एडवार्ड द्विपले आलु खेतिको लागी क्यानाडा मात्र नभएर संसार भर प्रख्यात कमाएको छ । आलु उत्पादनका लागी क्यानेडियन प्रदेशहरु मध्ये बर्षौं देखी पहिलो स्थान ओगट्दै आईरहेको यस द्विपले क्यानाडामा उत्पादन हुने सम्पूर्ण आलुको एक चौथाई एक्लैले उत्पादन गर्ने रहेछ। टोरोन्टो देखी नै आफ्नो गाडी लिएर गएको भए कम्तिमा एक-एक धोक्रा आलु हामी सबैले कोशेली बोकेर आउने थियौं होला । त्यो अवसरबाट पनि हामी यसपालि लाई चुक्यौं । लान नपाएपनी खान त पाई नै हालिन्छ होला भनेर हामिले त्यहाँको आलुको कुनै परिकार चाखेरै जाने निधो गर्यौं ।
त्यतिन्जेल सम्म हामिले पेटमा मुसाले कवड्डी खेलिरहेको महशूस गर्न थालेका थियौं । तीनलाई शान्त गराउन चार्लोटटाउनमा रहेको नेपाली रेष्टुरेन्टमा गएर जिब्रो सुहाउँदो भोजन गर्ने बिचार गर्यौं । बिदुर कै चिनजानका एक जना मित्रको स्पाईसी सेफ भन्ने भोजनगृहले नेपाली/इन्डियन परिकारहरु पस्कने रहेछ । ठेगाना पत्ता लगाएर जिपिएसलाई त्यहाँ पुर्याईदिने आदेश दिएर हामी त्यसैको निर्देशनमा त्यस ठाउँ सम्म पुग्यौं । रेष्टुरेन्ट भित्र एकजना पोखरा तिर कि सर्भर बहिनि रहिछिन । नेपाली खाना के खाने त भन्दा अक्सर पाईने उत्तर कि त दाल-भात कि त मोमो हुने गर्छ । ति वेट्रेस् ले पनि हामिलाई सुरु मै मोमो भनिन । मोमो सुन्ने बित्तिक्कै प्रमोदका आँखा चम्किए र सायद उनले उनका स्वादका ग्रन्थिहरु सकृय भएका अनुभव गरे हुनन्, तुरुन्तै मोमो अर्डर गरिहाले । मैले सम्झिएँ पियर्सन बिमानस्थलमा यात्रा सुरु हुनु भन्दा पहिल्यै उनले मसँग एटलान्टिकको मोमो खानु पर्छ भनेका थिए । प्रमोदलाई मोमोभोगि नाम दियो भने पनि उनले खुशिखुशि स्विकार्छन् जस्तो लाग्छ मलाई । मध्य दिन भएर होला पुरै रेष्टुरेन्टमा ग्राहकका नाममा हामि मात्र थियौं । त्यहाँ हामिले ओन्टारियोको नियाग्रा फल्सको हाक्कालिसिअस् रेस्टुरेन्टका मालिक दामोदर गौतमलाई भेट्यौं । उनि त्यहाँ आफ्नो व्यापार बिस्तारको संभावना बुझ्न आएका रहेछन । उनले हामिलाई चार्लोटटाउन शहरको बारेमा आफुले जानेका कुरा बताए । मोमो खाईसकेर गौतमजी सँग ओन्टारियो फर्केपछी फेरी भेट्ने कुरा गर्दै एक-अर्काको सम्पर्क नंबर साटासाट गरेर स्पाईसी सेफलाई बाईबाई गर्दै हामी सोझै त्यहाँबाट दक्षिण तर्फ लाग्यौं ।
पाँच मिनेट जती दक्षिण के लागेका थियौं हामी पोर्ट चार्लोटटाउन अर्थात प्रीन्स एडवार्ड द्विपको सबै भन्दा ब्यस्त समुद्री बन्दरगाह पुगिसकेछौं । त्यहाँ पुग्ने बित्तिकै एउटा भिमकाय क्रुज जहाज देखियो जुन देख्ने बित्तिक्कै मेरो मुखबाट स्वतस्फुर्त: रुपमा ‘वाउ’ निस्कियो । यो यात्रामा मैले धेरै कुरा जिवनको पहिलो चोटी देखिरहेको, सुनिरहेको, भोगिरहेको थिएँ । यात्रा ले नयाँ अनुभुती दिनु स्वभविक नै हो तर तीन दिन पनि पुरै बिति नसकेको यात्रामा यती धेरै नविन अनुभुती भैरहेको थियो कि मैले यस यात्राको प्रस्ताव राख्ने मित्र प्रकाश लाई मनमनै विशेष धन्यवाद दिएँ । उनि अगाडी नै थिए, मैले प्रत्यक्ष उनैलाई धन्यवाद भनेको भए हुने तर त्यसले खाली औपचारिकता जनाए जस्तो मात्र होला भनेर मैले सचेत भएरै मनमनै धन्यवाद भनेको थिएँ किनकी म साँच्चिकै उनि प्रती कृतज्ञ थिएँ / छु ।
युरोपियन राष्ट्र “द नेदरल्याण्ड्स” को जान्डाम शहरको नाम पाएको त्यस विशाल पानीजहाज चलेको हेर्न बिदुर संदिप्त थिए । तर हामी त्यहाँ रहुन्जेल त्यस्ले गती लिने कुनै संकेत देखाएन । म त त्यसको व्यापकता देखेरै अवाक थिएँ । अवाक अवस्था मै जहाज मात्रको, मेरो र जहाजको तथा यात्रा टोली र जहाजको गरेर करिव पचास जती बिभिन्न कोणका फोटो क्लिक्याईयो । टोरोन्टो मै हुँदा राकेश भाईले मेरिटाईम प्रदेशहरु गएपछी त्यहाँको समुद्री खाना विशेष गरेर लोव्स्टर जसरि पनि चाख्न सुझाव दिएका थिए । त्यो नचाखी नछोड्नका लागी म बेला-बेलामा टोलिलाई घच्घचाईरहन्थें । हामी मध्येका जन्मजात अझ पुस्तैनी साकाहारी टंकले मात्र मेरो घच्घचाईलाई गम्भिरतापूर्वक लिए । उनैले अरु तीन जनालाई पहिला यहाँको जे विशेष हो त्यो चाख अनि घुमघाम गरौंला भनिदिए पछी मेरो ईच्छा पुरा हुन मार्गप्रशस्त भयो र बन्दरगाह मै रहेको “लोव्स्टर अन द व्हार्फ” नाम गरेको रेष्टुरेन्टमा छिरियो । बाहिर मसिना पानी का छिट्टा छिट्ट्याइरहेका थिए । हामिले त्यही वातावरणमा लोव्स्टर मुर्क्याउने बिचार गर्यौं । हामी चार जनाको लागी लव्स्टर सहितको डिनर र टंकका लागी नाम किटेरै पृन्स एडवार्ड द्विप मै फलेको आलुको फ्राईज सहित उसकै छनोटको पाँच वटा ककटेल पेय ल्याउन भनेर हामी त्यही क्रुज जहाज “जान्डाम” को चर्चा गर्न थाल्यौं । चर्चा के गर्नु, हामिसँग त्यो सँग संबन्धित जिज्ञासा मात्र थिए- त्यो कहाँ पुग्ने होला ? गन्त्व्य पुग्न त्यसले कती दिन लेला? त्यसले कती मान्छे बोक्ला? त्यस भित्र के के होलान आदी इत्यादी ।
कुरै कुरामा प्रकाशले बिसौं शताब्दीको एउटा निकै नै चर्चित त्रासदि- टाईटानिक जहाजको दुर्घटनाको बारेमा एउटा चाखलाग्दो तथ्यको बारेमा जानकारी दिए । उनले कतै पढेका रहेछन, टाईटानिकको दुर्घटना उत्तरी एटलान्टिक महासागरमा क्यानाडाको छेउछाउ मै भएको कुरा । हामी कौतुहलित भयौं, के त्यो ठाउँ अहिले हामी बसेकै ठाउँ नजिक पर्दो रहेछ त? या कुन दिशा तिर कती पर पर्दो रहेछ? के हामिले त्यो ठाउँ देख्न सकौंला आदी इत्यादी । प्रकाशले महाज्ञानी गूगल बाट त्यस अद्भुत पानी जहाज को वियोगान्त अन्त्यको धेरै कुरा पत्ता लगाएर हामिलाई जानकारि दिन थाले । हामी त्यस संबंधित प्रश्नहरु सोध्दै जान्थ्यौं, उनि पर्ख है त भनेर गूगल लाई घच्घच्याउँथें अनि हाम्रा जिज्ञासा मेटिदिन्थे । नेपालमा धेरै बर्ष शिक्षकको जागिर गरेर क्यानाडा बसाइ सरेका प्रकाशले आफ्नो सुरुवाती पेशा मिस गरेका रहेछन क्यारे उनले हामिलाई टाईटानिकका बारेमा राम्रो सँग बुझाए । उता शिक्षक हुँदा त्यत्तिको प्रभावकारी थिए कि थिएनन कुन्नी? सन १९१२ को अप्रिल १० का दिन बेलायतको साउथ ह्याम्प्टनबाट अमेरिकाको न्यु योर्क तर्फ चालकदल सहित्त जम्मा २,२४० यात्रु बोकेर आफ्नो पहिलो क्रुजमा हिँडेको टाईटानिक गन्तव्य नपुग्दै एटलान्टिक महासागरको कुनै एउटा हिमशैल अर्थात आईस्बर्गमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा १५०० भन्दा बढी यात्रुको मृत्यु भएको थियो । यात्रासँगै जोडिएर आउने अनिश्चितताको एउटा भयावह पक्ष यही नै हो, कुन यात्रुले कुन बेला यात्रा छोड्छ पत्तो हुन्न । टाईटानिक सँगै डुबेका १५०० भन्दा बढी मानिसहरुको न्यु योर्क सम्मको र जिवनको यात्रा त्यहिं एटलान्टिक महासागरमा एकैचोटी टुङ्गिएको थियो । टाईटानिकका बारेमा प्रकाश कुरा गर्दै थिए, मैले भने त्यसैको बिषयवस्तु लिएर सन १९९७ मा निर्माण गरिएको ब्लकबस्टर चलचित्र “टाईटानिक” सम्झिएँ । चलचित्र प्रदर्शनमा आएपछी रातारात त्यसका प्रमुख अभिनेता र अभिनेत्री लियो र केट अत्याधिक प्रशिद्ध भएका थिए । चलचित्रका नायक पात्र ज्याकले आफू मरेर नायिका पात्र रोजलाई बचाएको दृष्यले दर्शकहरुलाई मज्जाले रुवाएको थियो । क्यानाडाली गायिका सलिन डियोनले गाएको चलचित्रको टाइटल गाना “एवरी नाइट इन माई ड्रीम्स्, आई सि यु, आई फील यु” भन्ने गित मेरो दिमागले स्वतस्फुर्त: सम्झ्यो र म मनमनै त्यो गुनगुनाउँदै थिएँ, अर्डर गरेका खाना लिएर वेटर हाम्रो टेबलमा आईपुगे ।
खाना र ककटेल टेबलमा राखेर वेटर फर्किईसकेपछी हामी लोव्स्टराहारी हुन खोजेकाहरुले एक अर्काको मुहारमा प्रश्नवाचक नजर दौडायौं । त्यो हेराईमा यो कसरी खाने भन्ने जिज्ञासा थियो । “बाहुना बाउले च्याउ खाओस न स्वाद पाओस्” भन्ने उखान हामिमा चरितार्थ भएको थियो । हामी चार मध्ये तीनजनाले पहिले कहिल्यै पनि लोव्स्टर खाएका रहेनछन । मैले पहिले एक दुइ चोटी चाखेको त थिएँ तर त्यो तयारी अवस्थामा अर्कोले गुदी मात्र निकालेर दिएको वाला थियो । लोव्स्टर डिनरको थाली सँगै दुईओटा मझौला खालका बाल्टिनी र त्यस भित्र साना सन्नासो र भाला जस्ता औजारहरु पनि देखियो । मलाई लोव्स्टर खानु कुनै युद्ध लड्नु जस्तो हुने कुराको भान भैइरहेको थियो । अल्झेर बसेर त भएन भनेर हामिले रेष्टुरेन्टकी एउटी वेट्रेसलाई हामिलाई लोव्स्टर खान सिकाउन अनुरोध गर्यौं । उसले हामिलाई पहिलो चोटी सबैलाई यस्तै हुन्छ भनेर सान्त्वना दिई र हामिलाई लोव्स्टर खाने तरिका एकपछी अर्को गर्दै बताउन थाली । सन्नासोको काम लोव्स्टरको सार्हो न सार्हो खवटा लाई च्यापेर फुटाउने रहेछ भने त्यो मसिनो भाला जस्तो औजारले खवटा भित्र रहेका लोव्स्टरको मासु कोट्याएर निकाल्दै खाने रहेछ । पहिले खाँदा मिठो लागेको लोव्स्टर मलाई त्यस्दिन त्यती स्वादिलो नलागेपनी मैले नै कोट्याई कोट्याई सबै भन्दा धेरै खाएँ । जन्मे देखी नै माछा र मासु मुखैमा नहालेका टंकले बडो चाख मानेर त्यो वेटरले हामिलाई लोव्स्टर खान सिकाएको दृष्य आफ्नो मोबाईलमा भिडियो रेकर्ड गरे । टंक आफ्नो सुबिधा क्षेत्र अर्थात “कम्फर्ट जोन” बाहिर रहेर पनि आनन्द लिन सक्दा रहेछन । त्यस्ता गुण भएका मान्छे निकै नै कम भेटिन्छन । म त्यस्तो छैन ।
लोव्स्टर खान एकदम उत्साहित भएर भित्र छिरेका हामिलाई त्यती मन नपरेको खाना खाएर महङ्गो पैसा तिर्नुपरेकोले थोरै असन्तुष्ट थियौं । रेष्टुरेन्ट बाहिर निस्केर अब ह्यालिफ्याक्स लाने फेर्री चढ्न कती समय बाँकी छ, त्यो ठ्याक्कै कुन ठाउँबाट लाग्छ, त्यस ठाउँ सम्म पुग्न चार्लोटटाउनबाट कती समय लाग्छ आदी इत्यादिको बारेमा प्रकाशले सम्पूर्ण जानकारी हासिल गरे । चार्लोटटाउन छोड्न अझै डेढ घन्टा समय बाँकी रहेको थाहा पाएपछी हामी नजिकै रहेको “गभर्नमेन्ट हाउस” हेर्न गयौं । सन १७६९ मा तत्कालिन सेन्ट जोन द्विप (अहिलेको पृन्स एडवार्ड द्विप) नोभा स्कोसियासँग अलग भएपछी प्रदेश प्रशासक लाई बस्ने घरै भएन भनेर सन १८३४ मा यस घरको निर्माण गरिएको थियो र यसले प्रदेशको राजनैतिक विकास को महत्वपूर्ण घटनाक्रम हरुलाई प्रतिनिधित्व गरेको भएर पृन्स एडवार्ड द्विप प्रदेश सरकारले यस भवनलाई प्रदेशको ऐतिहासिक सम्पदाको रुपमा सुचिकृत गरेर संरक्षण गरिरहेको रहेछ । अचम्मको कुरो, त्यस्तो महत्वपूर्ण संरक्षित क्षेत्र भएपनी त्यसको सुरक्षा लागी त्यहाँ चरो मुसो देखिएनन । न कुनै प्रहरि, न कुनै सैनिक, न कुनै सुरक्षागार्ड । त्यस स्थानको छोटो अवलोकन पछी अब सोझै नोभा स्कोसिया पुर्याउने फेर्री समात्ने उद्देश्यले मोबाईलको जिपियसमा फेरी चढ्ने स्थान नर्थ उम्बरल्याण्ड, उड आईल्याण्ड को ठेगाना राखेर त्यता तिर हुइँकियौं ।
चार्लोटटाउन बाट लगभग ५१ किलोमिटर दक्षिण-पुर्व ट्रान्स क्यानाडा राजमार्ग, पिई-१ पुर्व र पिई-२३ दक्षिण मार्गमा यात्रा गरेपछी हामी वुड आईल्याण्ड पुग्यौं । त्यहाँ पुग्दा ३-४ वटा मालवाहक ट्रक र ८-१० वटा कार/भ्यान फेर्री चढ्न प्रतिक्षारत रहेछन । हामी त्यहाँ पुग्दा फेर्री चढ्ने समय अझै १ घन्टा जती बाँकी नै थियो र हामिले कुर्दा कुर्दै अरु १५-२० गाडिहरु त्यहाँ थपिए । ठ्याक्कै ७ बजे फेर्री बोर्ड गर्ने समय भयो । जम्मा चार तले फेर्रीको सबै भन्दा तल्लो तलामा प्राईभेट कार/भ्यान राखिँदो रहेछ । त्यसको माथिल्लो तला अथवा भुइँ तलामा ट्रकहरु रहने रहेछन । त्यस माथिको तेश्रो तला यात्रु बस्ने मुल तला रहेछ जसमा रेस्टुरेण्ट, शौचालय, यात्रु बस्ने लबी र अन्य कोठाहरु थिए । त्यसै तलामा फेर्रीको अग्रभाग र पश्चभाग दुवैतिर खुला रहेको थियो जहाँ उभिएर यात्रु हरुले बाहिरको दृष्य अवलोकन गर्दै यात्रा गर्न पाईने रहेछ । म लगायत मेरा सहयात्रीहरुले सोचे बमोजिम नै फेर्री चढेपछी हामिलाई अर्कै किसिमको रमाईलो भईरहेको थियो । हामिले ७५ मिनेटको उत्तर एटलान्टिक महासागर माथिको करिव ९५ प्रतिशत यात्रा बाहिरै उभिएर गरेका थियौं । त्यस क्रममा हामिले दुई-चार वटा टिकटक भिडियो बनायौं, १०० भन्दा बढी तस्विर खिच्यौं, रेस्टुरेण्टमा कफी र खाजा किनेर खायौं । मैले त्यो ७५ मिनेटको समय भित्र ६-७ चोटी जहाजको अग्र भाग र पश्च भाग ओहोरदोहोर गरिरहें । कहिले मलाई जहाजको अगाडिबाट महासागरको व्यापकता हेर्न मन लाग्थ्यो अनि उत्तिनैखेर फेरी जहाजले अगाडी बढ्दै गर्दा त्यस्ले पछाडी तिर जलसतह माथी कोर्दै आईरहेको बाटो । बतासका कारण चिसो बढेर आउँदै थियो । म एक प्रकारको उन्मादमा थिएँ । त्यही उन्माद मै मैले टाईटानिक चलचित्रको उहि “एवरी नाईट ईन माई ड्रीम्स आई सि यु, आई फिल यु” गीत चर्को स्वरले गाउन थालेछु । जहाजबाट आफ्नो सुरमा पानी हेर्दै यात्रा गरिरहेका लगभग सबै जना म तिर फर्किए, मैले लाज महशुस गरें । मैले ध्यान भङ्ग गरे मध्ये का तीन जना बृद्धाहरु म तिर हेर्दै मुस्काईरहेका थिए र केहि भनिरहेका थिए । मैले उनिहरुको समिपैमा गएर उनिहरु सँग माफी मागें र उनिहरु सँग जिवनको समुद्र माथिको प्रथम यात्रा भएका कारण आफ्नो उन्माद लाई नियन्त्रणमा राख्न सकिनँ भनेर उनिहरुलाई प्रष्ट्याएँ । उनिहरु मध्ये की कान्छी देखिने महिला त्यस्तै ६० उमेरकी हुनन्, उनले माफी माग्नु पर्ने कारण नभएको र मसँग खुशी हुने र गाउने हरेक अधिकार भएको बताईन । त्यसपछी हामिले धेरै कुरा गर्यौं । मैले नेपाल, नेपाली, नेपालमा भएका आफ्ना परिवार, क्यानाडा आएदेखिको आफ्नो नालिबेली खोल्न भ्याएछु । उनिहरुले २०१५ मा नेपालमा भूकम्प गएको कुरा सुनेको बताए । मैले त्यत्रो ठुलो भूकम्प आएर पनि निकै नै छिटो त्यस्को ट्रमा अर्थात सदमा बाट नेपालिहरु बाहिर निस्किए भनेर फ्याँकें । धेरै जसो नेपाली हरु भाग्यवादमा विश्वास गर्ने र धर्म प्रती आस्था भएका मानिस हुनाले जस्तो सुकै विपत्ती आए पनि उनिहरु हाम्रो भाग्यमा यस्तै रहेछ या त भगवानले नै यस्तो चाहे पछी हाम्रो के लाग्छ र भनेर चित्त बुझाउँदै चाँडै त्यस्ता विपत्ती सृजित सदमाबाट उम्किन सक्छन भन्ने कोरा तर्क दिएँ । ति तीनजना मध्ये सबै भन्दा बढी उमेर खाएकी जस्ती देखिने महिला म सँग बोल्ने महिला डोरोथी कि फुपु मेलानी रहिछन । मैले पनि उनलाई “मे आई कल यु अन्ट मेलानी ?” भनेर साइनो लगाईहालें । उनि मज्जैले हाँसिन र भनिन “माई एज ह्यज रिच्ड एट अ पोइन्ट ड्याट नो वान वान्ट्स टु कल मी अदर द्यान अन्ट” । हामी सबै गललल हाँस्यौं ।
फेर्री कप्तानले जहाजको यात्राको जम्मा १० मिनेट समय बाँकी रहेको बताए । उनको उद्घोषण बमोजिम नै जहाज दसै मिनेटमा नोभा स्कोसियाको कारिबु मा गएर रोकियो । गाडी फेर्री बाट निकालेर हामी पहिले ट्रान्स क्यानाडा राजमार्ग र त्यसपछी एनएस-१०४ पश्चिम र एनएस्-१०२ दक्षिण हुँदै ह्यालिफ्याक्स को बाटो पच्छ्याउन थाल्यौं । अब भने मलाई कहिले सुत्ने ठाउँ पुगौंला झै भैसकेको थियो । भोक पनि निकै जागेकाले हामिले बाटोको म्याक्डोनाल्ड्स्मामा छिरेर बिग् म्याक, वेजि बर्गर र कफि लियौँ। फेर्री को रेस्टुरेण्टमा सी फुड सुप खाएका प्रकाशले आफुलाई बिसन्चो भए जस्तो भएको बताए । मैले उनलाई आफ्नो झोला बाट पेट सन्चो गर्ने एक ट्याब्लेट औषधी दिएँ र म्याकको छेवैमा रहेको कन्भिनियन्स स्टोरबाट ४ पाकेट नूडल सुप किनेर तातो पानीमा घोलेर खान दिएँ । त्यती खाईसकेपछी उनले केहि राहत मिलेको बताए । यात्राका बेला सहयात्रीहरु नै परिवार हुनुपर्छ र एकअर्कालाई परिवारले जत्तिकै ख्याल गर्नुपर्छ । मलाई गर्व छ, म परिवार जत्तिकै भएका मित्र हरुसँग साथसाथै यात्रा गर्दै थिएँ ।
करिब रातको दस बजेको हुँदो हो हामी माउन्ट सेन्ट भिन्सेन्टको सुरक्षा गार्ड बस्ने भवनमा पुग्दा । हामी बस्ने आवासको साँचो आवास व्यवस्थापिकाले त्यहिं छोडिदिएकी थिईन । साँचो लिएर केहि बेर आवास भवन नभेटेर अल्मलिए पछी १०:३० बजे त्यस रातको हाम्रो वासस्थानमा प्रवेश गर्दा हामी द्विविधामा थियौं, सुतिहाल्ने कि बाहिर निस्केर ह्यलिफ्याक्स को रात्री जिवनको खोजी गर्ने भन्नेमा । केहि बेर किंकर्तव्यबिमुढका अवस्थामा यत्र तत्र पसारिएपछी मैले आफ्नो झोला बोकें र तल्लो तलामा लागें जहाँ हामी मध्ये एक जनाको लागी सुत्ने व्यवस्था गरिएको थियो । टंकले सुत्ने निर्णय गरे भने हामी बाँकी उनि भन्दा उरन्ठेउला निस्कियौं र रातको सवा बार्ह बजे ६-७ किलोमिटर पर रहेको क्यासिनोमा छिर्यौं । क्यासिनो दुई बजे सम्म खुल्थ्यो । प्रमोदले ब्ल्याक ज्याक र मैले व्हील अफ फर्च्युन खेलेर जम्मा १०० डलर जितेका थियौं, बिदुरले त्यहाँबाट निस्केर अन्त जाने कर गर्न थाले । मन मारीमारी प्रमोद र म पनि त्यहाँबाट निस्कियौं र डाउनटाउनमा रहेको ह्यालिफ्याक्स एल पबमा एक घन्टा बितायौं । पबमा लोकल ब्याण्डले गाउने बजाउने गर्दो रहेछ । त्यही संगीतको तालमा मैले एक बोतल बियर सकें र एक दुई वटा गीतको बिटमा हल्लिएँ । मलाई नाच्न आउँदैन, तर नाच्न मिल्ने सम्मको ठाउँमा मैले नाचेकै हुन्छु । नाच्न त्यतिबिधी सोख भएर नि मैले नाच्न किन नसिकेको होला ?
बिदुरले हामिले भाडामा लिएको गाडी बिहान ८ बजे अगावै फिर्ता गर्नु पर्ने थियो । पब बाट निस्किँदा सवा तीन भैसकेकाले बिदुरले त्यतिखेरै रेन्टलको अफिस बाहिरको पार्किङ्गमा गाडी छोडेर उबरमा फर्किने बिचार राखे । हामिले सहमती जनायौं । गाडिको ईन्धन पुरा ट्यांकी भरेर राखिदिनु पर्ने हुनाले रेन्टल अफिस भन्दा केहि वरको स्टेसनमा छिर्यौं । त्यहाँ ईन्धन उपलव्ध रहेनछ । त्यस्पछी मलाई र प्रमोदलाई त्यहिँ छोडेर बिदुर र प्रकाश ले अन्तै ईन्धन भरेर हामी भए ठाउँ आईपुगे । गाडी पार्क गरिसकेर साँचो ढोकाको प्वाल भित्र छिराइदिएर हामिले उबर मगायौं । एक जना भर्खर टोरोन्टो बाट आएका भारतिय मुल का उबर चालकले हामिलाई आवास सम्म छोडिदिँदाको समय बिहान को पौने पाँच बजेको थियो । म सरासर आफु सुत्ने कोठामा लागें । बिहान नौ बजे आफ्नो बिग ब्याङ इमिग्रेसन कन्सल्टिङको लागी अवसरका बारेमा मैले एउटा महत्वपूर्ण अनलाईन मिटिङमा सहभागी हुनु थियो । त्यसैका लागि आफ्नो मोबाईल फोनमा अलार्म राखेर २-३ घन्टा भए नि निदाउँछु भनेर म ओछ्यानमा पल्टिएँ । तर, फेरी भुसुक्कै भईएला र त्यस्तो महत्वपूर्ण मिटिङ्ग छुट्ला भन्ने पिरले मेरा आँखा झिमिक्कै भएनन । आज चैं बिदुरलाई मैले चाँडो उठ्नमा जितें भन्न नि पाईएन, उठ्न त सुत्न पर्थ्यो । म त सुतेकै थिईनँ ।
चौंथो दिन
निदाउनै नसकेपछी ओछ्यानमा नि कती पसारो परिराख्नु भन्ने सोचेर म ७:३० बजे नै उठेर माथिल्लो तलामा साथीहरु सुतेको कोठामा लागें । मलाई अबको १:३० घन्टामा सुरु हुने बैठकको लागी तयारी गर्नु थियो । आश्चर्य चाहिं यो कुरामा थियो कि एकै निमेष ननिदाउँदा नि म माथी अनिंदोको असर भने परेको थिएन । साथीहरु पनि ढिला नै सुतेका थिए, अथवा म जस्तै निदाउनै नसकिरहेका पो थिए कि, यती चाँडै म गएर हलचल गर्दा उनिहरुको निद्रा बिगार्छु कि भन्ने कुराले मलाई थोरै पिरोलेको थियो । तर, मीटिङ पनि उत्तिकै जरुरी थियो । जे सुकै होस्, जे गर्छु बिरालोको चालमा गर्छु भन्ने सोचेर मैले टंकलाई फोन लगाएँ किनकी उनि समय मै सुतेका थिए र सामान्य अवस्थामा उनको उठ्ने बेला भैसकेको थियो । उनले दुई घन्टी मै फोन उठाए र चुकुल खोलेर मलाई कोठामा प्रवेश दिए । लौ जा! मिटिङको लागी प्रयोग गर्नुपर्ने कम्प्युटर त बिदुर सुतिरहेको कोठा मा पो थियो । बिदुर पनि चुकुल ठोकेर सुतेका रहेछन्, मैले नचाहँदा नचाहँदै पनि उनलाई जगाउनु पर्ने भयो । उनको निद्रा अत्यन्त पातलो रहेछ, एक ढ्क्ढक्याई मै उत्तर फर्काईहाले । मैले माफी माग्दै उनलाई उठाउनु पर्नाको कारण बताएँ । उनले ढोका खोलेर मलाई त्यस कोठामा प्रवेश दिए, आफ्नो झोलाबाट कम्प्युटर झिके र त्यसलाई खोलेर सुचारु अवस्थामा मलाई दिए । मैले अब एक दुई घन्टा सुत भनेर ऊ सँग कम्प्युटर लिएर बाहिर लबिमा आएँ, कम्प्युटरमा ईन्टरनेट जोडें र बैठकको लागी दिईएको जूम लिंक रहेको ईमेल खोलेर सोझै स्नानार्थ स्नानघर छिरें । स्नान सकिएर बाहिर निस्केर आफ्नो झोलामा रहेको मिटिङ्ग प्रयोजन कै लागी भनेर लिएर आएको बुशर्ट पहिरिएँ, कपालमा जेल लगाएँ, मुहारमा क्रीम लगाएँ र मिटिङका लागी तम्तयारी अवस्थामा सोफामा मिटिङ्गको कल आउने प्रतिक्षा मा बसें । मिटिङ आधा घन्टामा सकियो र लगभग सँगसँगै मेरो कुराकानिको आवाजका कारण सुतिरहेका साथीहरुको निद्रा पनि । मिटिङ सकिएपछी मलाई अब त्यहाँबाट निस्केर ह्यलिफ्याक्स घुम्न पाए हुन्थ्यो जस्तो लागिरहेथ्यो । साथिहरुले बुझे जस्तो गरे, चाँडो-चाँडो स्नानादी कर्म सकेर हामी कोठाबाट निस्कियौं ।
सुतेको ठाउँबाट बाहिर निस्केर त्यस्को प्रवेशद्वारअगाडी बसेर दुई-चार तस्विर लिनु हाम्रो नित्यकर्म जस्तै भैसकेको हुंदा हामिले त्यहाँ पनि त्यस कर्म पुरा गर्यौं । अनि एउटा उबर बोलाएर ह्यालिफ्याक्स डाउनटाउन तिर लाग्यौँ । कफिको तलतलले मेरो दिमागमा घर गरिसकेको थियो । तर, प्रकाशले हामिलाई वरपर कफी नभएको ठाउँमा ओरालेका रहेछन । यात्रा अवधिभरमा प्रकाशको जिपिएसले खोजेको ठाउँ पुर्याउन नसकेको त्यो पहिलो चोटी थियो । त्यसपछि, “टिम होर्टोन्स नियर मी” कमाण्ड दिएर गुगल नक्सालाई जिम्मा दिने बित्तिक्कै उसले करिब ७०० मिटरको दुरिमा हामिले खोजेको कफी सप रहेको जानकारी दियो । कफी नखाई म केहि गर्नेवाला थिईनँ, मानौं कफी कफी नभैकन मलाई संचालन गर्ने साँचो थियो । नक्सा पछ्याउँदै टिम होर्टोन्स पुगेर एक कप मिडियम ब्ल्याक विथ टु सुगर्स सुरुप्प्याएपछी मैले ठुलो स्वरमा गर्जन गरें, “ल भन केटा हो कता जाने ?” साथिहरुले मेरो कफी प्रतिको आशक्तिको कारण बुझे । हरेक चोटी झैं कहाँ जाने ? कता घुम्ने ? भन्ने कुरा त व्यवस्थापककै काँधको जिम्मेवारी थियो । त्यसैले प्रकाशले नै त्यहाँ बाट ५०० मिटर हिँडेपछी एटलान्टिक महासागर किनार पुग्न सकिने र त्यहाँबाट ठुला कार्गो जहाज र कुनै एउटा सानो टापु हेर्न सकिने बताएर त्यतै जाने प्रस्ताव राखे । हामिले कहिल्यै उनको प्रस्ताव नकारेको भए पो ! नकार्न त हामिले त्यहाँ नजाउँ, यहाँ जाउँ भन्न सक्नु पर्थ्यो, हामिले त्यती दुख गर्न कहिल्यै खोजेका थिएनौं । त्यसैले व्यवस्थापकलाई अघी लगाएर हामी उनका पछी पछी लाग्यौं । प्रकाशले भनेको ५०० मिटर यो पाली चैं ५०० तियाँ परेछ, झोला बोकेर करिव २० मिनेट हिँड्नु परेपछी साथिहरुले प्रकाशलाई फर्कँदा त ट्याक्सी भन नि भनेर उर्दी लाए । त्यहाँको एटलान्टिक तटमा बसेर बिदुरको निर्देशनमा ४-५ वटा टिकटक भिडियो बनाउने र मैले ढुङ्गा पल्टाई पल्टाई समुद्रको तटमा कस्ता कस्ता किरा बस्दा रैछन भनेर हेर्ने अनि सिपिका खोलहरु बटुल्ने बाहेक विशेष केहि गरिन।
एक घन्टा जती त्यहाँ बिताएपछी अब आज चैं इन्डियन खानु पर्छ भनेर प्रकाशले पहिले ह्यालिफ्याक्स डाउनटाउन मा रहेका इन्डियन रेष्टुरेन्ट तलास गरे र एउटा उबर बोलाए । यसपालिका हाम्रा उबर चालक फ्रेन्च क्यानेडियन मुलका पूर्व जल शैनिक जँ मापेती थिए । उनको परिचय पत्रमा अङ्ग्रेजी बर्णमालामा लेखिएको नामलाई मैले फ्रेन्च उच्चारण गरेर जस्ताको तस्तै भनिदिएपछी उनले “डु यु स्पीक फ्रेन्च्” भनेर मलाई सोधे । तर मलाई फ्रेन्च उच्चारणका केहि नियम मात्र आउँछ, जुन उनको नामका सन्दर्भमा संयोगले मिल्न पुगेछ । “नो आई डन्ट” भन्नु पर्ने मैले “यस, ओन्ली अ लिटल्” भनिदिएँ । मलाई फ्रेन्चमा बोँ जु (हेल्लो), मेर्सी (धन्यवाद) र कोमों सा भा (तिमीलाई कस्तो छ?) भन्न मात्र आउँथ्यो । म धेरै भाषाको आधारभूत दुई चार शव्दको जानकारी राख्दछु, जुन म तत्संबन्धित मानिसहरु भेटेका बेला उनिहरु सँग कुरा गर्न प्रयोग गर्ने गर्छु । म त्यसो किन गर्छु, मलाई थाहा छैन । उबर चालक जँ ले हाम्रा बारेमा बुझ्न खोजे र उबर लगायत यस्ता एपहरुको आगमनले स्थनिय अर्थतन्त्रमा परेको नकारात्मक प्रभावहरुमा हामिसँग छोटो कुराकानी गरे।
दस मिनेट जतिमा हामी प्रकाशले पत्ता लगाएको इन्डियन भोजनालयमा पुग्यौं जुन एउटा मलको फुड कोर्ट भित्र रहेछ । हामिले त्यहाँ दाल भात र कुखुराको मासु मगाएर खायौं । हामी निकै बेर त्यस मलको फूड कोर्टमा बस्यौं । किनकि दिउँसोको दुई बजी सकेको थियो र हामिलाई अब एयरपोर्ट जाने कि वरपर घुम्ने भन्ने निर्णय लिन गार्हो भैरहेको थियो । पहिले यहाँबाट त निस्कौं भनेर म आफ्नो झोला बोकेर अघी लागें, साथिहरुले kR5\ofP । बिदुरले बिहान उठेदेखी नै ह्यालिफ्याक्स को सार्वजनिक बस चढ्ने रहर जाहेर गरेका थिए । टोरोन्टोमा आफ्नो निजी गाडी नहुन्जेल उनले टोरोन्टो ट्रान्जिटका बसहरु चढ्ने गरेका थिए । २०१३ मा आफ्नो गाडी भैइसकेपछी उनले त्यसयता सार्वजनिक यातायातको साधनहरु चढेका थिएनन । त्यसैले, उनले ह्यालिफ्याक्समा सार्वजनिक यातायात चढेको आफ्नो बिगत पुन cg’ej ug{ चाहन्थे । हामिले उनको ईच्छामा साथ दिने बताएका थियौं र विमानस्थल जानलाई ह्यालिफ्याक्स लैजाने बस चढ्ने बिचार u¥of}+ . हामिलाई किन भनेर बताएनन्, तर बिदुरले एयरपोर्ट जान निकै हतार गरे । म र प्रमोदले चाहिं हामी त्यस पलमा रहेको ठाउँबाट नजिकै रहेको एउटा सानो पहाड चढ्ने र त्यो उचाईबाट ह्यालिफ्याक्स हेर्ने बिचार गरेका थियौं । बिदुरले हाम्रो रहरमा तगारो बन्न चाहेनन तर हामी सँग डाँडा चढ्ने इच्छा पनि जताएनन । बरु दुबै पक्षले आ-आफुले गर्न चाहेको कुरा पुरा गर्नु पाउनु पर्छ भन्दै उनि अगाडि नै रहेको ह्यलिफ्याक्स् ट्रान्जिटको ३२० नम्बरको बस चढेर एयरपोर्टमै भेटौंला भनेर त्यहाँबाट छुट्टिए । म, टंक र प्रमोद डाँडा तिर लाग्यौं । प्रकाशले अलि सन्चो नभएको महशुस गरेका थिए, त्यसैले उनले हामिलाई तल नै कुर्ने बताए । हामिले चढ्ने भनेको डाँडो ह्यलिफ्याक्सको सिटाडेल अर्थात गढी थियो । गढिको आधारमा त्यसलाई सबैतिर बाट घेरेर रहेको चक्रपथ थियो । ऐतिहासिक महत्वको सिटाडेल किल्लाले सन १७९४ देखी १९०६ सम्म शहरमा रहेको बन्दरगाहको सुरक्षा गरेको थियो र त्यो अवधिमा यस किल्लामा कुनै दुश्मनले आक्रमण गर्न सकेका थिएनन । किल्लामा हरेक दिन पर्यटकहरुको मनोरन्जनका लागि अठहत्तर हाइल्याण्डर नामको रेजिमेन्टले सैन्य परेड हरु देखाउने, ब्यागपाइपहरु बजाउने र मध्यान्हमा बन्दुक पड्काउने गरिने रहेछ । एयरपोर्ट पुग्न नभ्याईएला भन्ने डरले हामिले ती गतिविधिको प्रत्यक्ष अवलोकन गर्न पाएनौं । बरु ११०० मिटरको चक्रपथ फनक्कै घुमेर हामिले ह्यालिफ्याक्स शहर पुरै ३६० डिग्री कोणमै नजरावलोकन गर्यौं । त्यस ठाउँमा हामिले ह्यलिफ्याक्स् शहरले २ शताव्दी अघी भोगेको एउटा भयानक ईतिहासको बारेमा थाहा पायौं । दोश्रो विश्वयुद्धको समय सन १९१७ मा ह्यलिफ्याक्स् बन्दरगाहको एक स्थानमा बिस्फोटक पदार्थले भरिएका एसएस-मोँ ब्लँ नाम गरेको फ्रान्सेली र एसएस-इमो नाम गरेको नर्वेली स्टिमर जहाजहरु एकआपसमा ठोक्किँदा भएको भयङ्कर दुर्घटनामा २००० जना भन्दा बढी मानिसको मृत्यु भएको थियो, हजारौं घाइते भएका थिए भने व्यापक मात्रामा घरहरुको क्षति भएको थियो । हामिले सिटाडेल किल्लाबाट ठ्याक्कै बिस्फोटन भएको ठाउँ देख्न सक्थ्यौं । त्यो त्रासदिको कल्पना गरेर मेरो जिउ एकपटक सिरिङ्गग भयो । यात्रा भरी मैले महशुस गरेको एउटै मात्र असहज बेला त्यही मात्र थियो ।
लगभग ४० मिनेट जती किल्ला वरपर घुमेपछी हामिले सडकको पेटिमा प्रकाशलाई बसिरहेको देख्यौं र विमानस्थल जान हतार भैसकेको सोचेर छिटोछिटो किल्लाबाट ओर्लियौं । प्रकाशले अझै सन्चो महशूस गरेका थिएनन् । हामिले उबर बोलायौं र सोझै स्टान्फिल्ड विमानस्थलमा पुग्यौं । चेक ईन गरेर विमानस्थल भित्र रहेको टिम्समा खडा चिया (स्टिप टि) पिएर एकछिन सुस्तायौं । बिदुरले आफु पुगिसकेको जानकारी विमानस्थलमा खिचेको सेल्फी हाम्रो ग्रुप मेसेन्जरमा पठाएर दिईसकेका थिए । त्यसैले, उनि राम्रै सँग पुगेछन भन्ने लागेर हामिले उनलाई भेट्ने आतुरी पनि देखाएनौं । हामिलाई पियर्सन विमानस्थल सम्म पुर्याउने एसि-६१२ बिमानको उडानका लागी अझै ४५ मिनेट समय भएकाले हामिलाई कुनै हतार थिएन । ६:३० बजे स्टान्फिल्डबाट उडेको विमानले साढे दुई घन्टा उडेर टोरोन्टोको समयको ८ बजे पियरसन विमानस्थलमा हामिलाई उतार्यो । बरु विमान अवतरण हुने बेलामा धावनमार्ग खाली नभएर विमान आकाशमै घुमिराखेकोले हामिलाई अनिश्चितता को भयले करिव ५ मिनेट जती सताएको थियो । जे होस, विमानस्थलको टर्मिनल ३ बाट बाहिर निस्केर हामी स्कार्बोरो बाट हामिलाई लिन आएका साथी कमल (जो टंकका आफ्नै साला भाई हुन्) को प्रतिक्षामा बस्यौं । उनि आउन्जेल सम्ममा हामिले नेपाली चलचित्र सिमानाको “आफ्नै गाउँ फर्की आएँ” भन्ने गीतमा एउटा टिकटक बनायौं । यात्राका सदस्यहरु जन्मिएको आफ्नै गाउँ नेपालको काभ्रे, स्याङ्गजा, मोरङ, झापा र तेह्रथुम जिल्लामा पर्ने भए तापनी संयोगले जुराएर सबैको अहिलेको गाउँ आफु जन्मेको ठाउँ बाट झन्नै ११००० किमी उत्तर पश्चिममा भुगोलको बेग्लै कुनाको उत्तर अमेरिकी मुलुक क्यानाडाको टोरोन्टो महानगरको स्कार्बोरो भन्ने ठाउँ हुन पुगेको थियो ।
यात्रा सकियो भनेर भन्न सकिंदैन । किनकी यात्रा सकिएको दिन, यात्रुले यात्राको बखान आफैं गर्न सक्दैन । यात्रा नसकिएकाहरुले गर्नुपर्छ । जिन्दगी नामको एउटा लामो यात्रामा हामिले ४ दिनको यात्रा सकेका थियौं । जिन्दगीको यात्रा रैखिक हुन्छ, एकोहोरो एउटै गन्तव्यमा अगाडी बढेको बढ्यै कुन बेला चाल नै नपाई गन्तव्यमा पुगिन्छ र त्यो यात्राबाट विश्राम लिनुपर्छ । तर जिन्दगी भित्र गरिने उपयात्राहरुमा एउटै गन्तव्यमा दोह्र्याएर-तेर्हाएर मन लागे जती यात्रा गर्न पाईन्छ । तर, हरेक नयाँ यात्रासँग अनेक किसिमका अनिश्चितता भने रहेकै हुन्छन् । जिन्दगी नामक मुलयात्रा नसकिए सम्म यस्ता उपयात्राहरु जारी नै राख्ने अठोट सहित हामिले यसपालिको यो उपयात्रा सक्यौं ।