पाखण्ड

ईर्ष्यामा जल्नु हुन्न भन्नेहरु नै धुवाँ छोडिरहेको देख्छु
डाहाले मर्नु हुन्न भन्नेहरु नै षड्यन्त्र गोडिरहेको देख्छु
हुँ भने जस्तो भेट्दिनँ कोहि र त दिग्भ्रमित छु म अझै
जब, शान्ति चिच्याउनेहरु नै टाउको फोडिरहेको देख्छु ।
 
उपेक्षा नगर्नु भनी भन्छ जो उसैले आँखा छलेको देख्छु
चाकडी नगर हक मर्दछ भन्नेले नै पाउ मलेको देख्छु
म मात्रै असल भन्ने भन्दा खराब अरु देख्दिनँ कोहि
जब, पैसै सब होइन भन्नेहरु नोटको बिटामा ढलेको देख्छु ।
 
बालअधिकारकर्मिकै घरमा कुनै बालकको मजदूरी देख्छु
नारीहकका लागि लड्छु भन्नेकै अर्धाङ्गिनिको मजबुरी देख्छु
भन्ने र गर्ने फरक भए पो मानिस भईने हो कि झैं लाग्छ
जब, सादा जीवन बाँचौ भन्नेकै तामझाम र चुरिफुरी देख्छु ।
 
महाज्ञानि हुँ भनी भन्ने स्वयंलाई ज्ञानकै अहंले पुरेको देख्छु
फलको आश नगर भन्नेले नै दैवको आशिष कुरेको देख्छु
आदर्श मानेका सबै कुमती तिर अग्रसर भए जस्तो लाग्छ
जब, नैतिकवान भनिएकैको मगजमा खुराफात फुरेको देख्छु ।
 
सन्तोष परम सुखं भन्ने आफैं कैयौं बर्ष देखि अतृप्त देख्छु
कुलतबाट जोगिनु भन्ने आफैं रक्सी र जुवामा लिप्त देख्छु
सब बिपरित छ र त पक्कै कलियुग आएछ जस्तो लाग्छ
जब, सत्यको सुर्य नै मधुरो तर मिथ्याको दियो प्रदिप्त देख्छु ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *