सरकार
मेरो साथीको गुठी पुजा छ बिदा देउ
मेरो आफ्नो कुलको दियाली छ बिदा देउ
मेरो छिमेकिको बाजेको श्राद्ध छ बिदा देउ
मेरो भाईको ससुराको चौरासी छ बिदा देउ ।
सरकार
मेरी जेठिसासुको छोरिको जन्मदिन छ बिदा देउ
मेरो कान्छो सालोको छोरोको न्वारन छ बिदा देउ
मेरो गाउँका एक हुल तिर्थबाट फर्के बिदा देउ
मैले चिन्दै नचिनेको मान्छेको बिहे छ बिदा देउ ।
सरकार
तिमी त अभ्यस्त छौ बिना अवसर पनि बिदा देउ
घुमाएर के दिनु पर्छ र तिमीले ? तिमी सिधा सिधा देउ
थला परेको देशको अर्थतन्त्रलाई अझ बढी पिडा देउ
सरकार तिमीले केहि सोच्नै पर्दैन तिमी मात्र बिदा देउ ।