भैदिए पो हुन्थ्यो!!!

आफुले चाहेको नि कुनै कुरा भैदिए पो हुन्थ्यो
अधुरो कुनै आफ्नो सपना पुरा भैदिए पो हुन्थ्यो ।
 
होसमा बस्नै छैन मलाई बेहोसी नै प्यारो लाग्छ
मैले पिउने पानी नै पनि सुरा भैदिए पो हुन्थ्यो ।
 
चर्का हल्लाहरु समेत मधुर संगीत लागोस न बरु
आवाज दिने सबै थरी तानपुरा भैदिए पो हुन्थ्यो ।
 
दुनियालाई खेल देखाउने चटके बन्न पाए अहो
मेरो इशारामा नाच्न सबै जमुरा भैदिए पो हुन्थ्यो ।
 
कैलेकाहिं त लाग्छ मलाई पहाड नै बोकी हिंडौं
बडेमाका पर्वत समेत साना भुरा भैदिए पो हुन्थ्यो ।
 
आफुले चाहेको नि कुनै कुरा भैदिए पो हुन्थ्यो
अधुरो कुनै आफ्नो सपना पुरा भैदिए पो हुन्थ्यो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *