याद, ज्ञान, घ्याम्पो र मान्छेको जात

सेता कपासका गुच्छाहरु छन निलो नभमा लपेटिएका
स्वप्निल बागमा सयौं थरी छन रङ्गहरु समेटिएका
अँचेटिरहन्छन भविष्यका धेरै कुराहरुले परन्तु
झक्झकाईरहने यादहरु छन अझै कती नमेटिएका ।
 
कलकल गर्दो नदी छ यहाँ निरन्तर नै बहिरहँदो
बहिरहेर भेट्नु छ सागर सायद यही कहिरहँदो
म बग्दछु कल्पनामा भेट्दछु कि झैं ज्ञानसागर
अज्ञानै छु कहिलेसम्म हो यो तिर्सना रहिरहँदो ।
 
सर्सराएर चिसो बतास आउँछ अनि छोएर भाग्छ
गर्जेर मेघ बर्सन्छ जब गगन आफैं रोए झैं लाग्छ
के सोचेर घिच्चिन्छ मानिस हात खाली हो जानुपर्ने
उटुस्सिएर फुटुन्जेल सम्म घ्याम्पो भर्न अझै माग्छ ।
 
रविले आफ्ना किरण छोडे जगतमा नवप्रभात हुन्छ
बिर्से कुनैदिन उदाउन भने सोच कस्तो उत्पात हुन्छ
आमा हुन धरा सकल जगलाई उनैले त पालेकी छिन
घोचिरहन्छन उनैलाई तर मान्छेको नि क्या जात हुन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *