नौ महिना धरेर गर्भबिच असिम कष्ट सहेर जन्मायौ
छातिका लाम्टा चुसाएर दुइ खुट्टामा उभिने बनायौ
ऐया मात्र सुन्दा मेरो मुखबाट दुख्थ्यो तिमीलाई नै
तिम्रा ममतामा हुर्किएँ अनेकन दुखमा समेत खुशी भै ।
 
भोकै छस कि खाइस कतिखेर बनाउँं के सोध्दथ्यौ
छोरोलाई मनपर्छ भनी अनेकन सागसब्जी खोज्दथ्यौ
बिरामी भो छोरो कुनैबखत भने पिडा तिमीलाई हुने
को रह्यो र आमा तिमीले छोडेपछी मेरा दुखमा रुने ।
 
सन्तानका सुखका निमित्त आफुले सकुन्जेल भिड्यौ
त्यती नै रहेछ भागमा हाम्रो एक्ली तिमी लौ हिँड्यौ
हौली तिमी उसैसँग जस्लाई तिम्रो खाँचो रहेछ धेरै
टुट्दो रहेछ बन्धन माया जगतको साँचो रहेछ त्यही ।
 
तिम्रा दुख बुझेरै पनि विवस म त्यो मेट्न नि सकिनँ
तिम्रो रोग निको गराउने कुनै ओखति नै भेटिनँ
बाध्य यती गरायो दैबले पनि उपाय दिएन केहि
टुलुटुलु हेर्ने थियो बिकल्प एक आखिर गरायो त्यही ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *