मुहारपूस्तक भरि अरुका बा देख्छु
अनि उदाङ्गा आँखा परेलाले छेक्छु
बाको अनुहार जो सँधै सम्झिन्नथें
अनेकानेक आकृतिमा आज सम्झिन खोज्छु,
र सम्झिन्छु-
खुसि भएका बा
रिसाएका बा
गालि गर्दै गरेका बा
माया गर्दै गरेका बा
गफ ठोक्दै गरेका बा
मलाई बोक्दै गरेका बा
एक्लै हिंड्दै गरेका बा
जिउन भिड्दै गरेका बा
केहि पढ्दै गरेका बा
लड्दै गरेका बा
केहि खाँदै गरेका बा
कतै जाँदै गरेका बा
चाड मनाउँदै गरेका बा
बिग्रेको बनाउँदै गरेका बा
बिरामी परेका बा
ठेगाना सरेका बा ।
बाका केहि सय तस्वीर आए
अरु केहि सय आएनन
स्मृतिमा जोड दिएँ
मरि गए आएनन
बिर्सें कठै आधाउधि
मेरा बाका अरु छवि
आफ्नै बा बिर्सिने
म बिचरो कवि ।
बा छैनन भन्ने बिर्सिन्छु कैले
र बाको मुख हेर्न खोज्छु
भेट्दिन र सोध्छु मेरा बा खै?
तिमिसँगै होलान पक्कै
सम्झेको छ कान्छोले
दैव, बालाई भनिदेउ है ।