भिड र भेडा

भिडको आफ्नै कथा छ
भेडाकोआफ्नै कथा छ
भिडका भेडाहरुको
अनि
भेडाका भिडहरुको आफ्नै कथा छ ।
भिडका एक मालिक छन
भेडाका एक मालिक छ्न
भेडाका भिडहरुको अनि
भिडका भेडाहरुको एक मालिक छन ।
आफ्ना पुर्खाको छाला काढेर बनाइएका अलौकिक मन्चबाट
जब भेडाका भिडका मालिक
समृद्धिका उखानटुक्का सुनाउँछन
भेडाका भिडहरु भ्या (बा) गर्छन
आफु इत्तरका अन्य सबैलाई खिज्याउन
जब चुट्किला सुनाउँछन
भिडका भेडाहरु हाहा (बाबा) गर्छन।
 
आफुले जन्मेर, हुर्केर, बढेर, पढेर, बुझेर, भोगेर, देखेर, सुनेर यहाँसम्म आइपुग्दा
मालिकले समृद्धिका कथा सुनाएकै छन
सुशासनको राग अलापेकै छन ।
 
भेडालाई थाहा छ मालिकले भने जस्तो
समृद्धी मालिक र उनका आसेपासेलाई आएको छ
भेडा आफैंलाई आएको छैन
तर,
भेडा भ्या गरिरहन्छ
किनकि भेडालाई लाग्छ
स्वभावत: भेडाले भ्या (बा) गर्नुपर्छ
आफ्नै ऊन सेरेर मालिकले
त्यसैको कम्बल नओढाउलान कि भन्ने डरमा
भेडाका भिड भ्या (बा) गरिरहन्छन
भिडका भेडा भ्या (बा) गरिरहन्छन।

Leave a Comment

Your email address will not be published. Required fields are marked *