कसलाई भेट्न खोज्नु भो रे?

ए मलाई नै पो !
त्यसो भए त गुड लक महाशय,
जुग भयो मैले नै मलाई नभेटेको ।
मैले त बिर्सिसकेको थिएँ
म पनि छु यतै कतै
अरु सँगै यहि ब्रह्मण्डमा ।
आफू हराएको नि पत्तो नपाउने?
तपाईं चकित भएर भन्नुहुन्छ,
खोज्नु पर्दैन त?
अझ गाली गर्नुहुन्छ ।
 
तर महाशय,
आफू भएकै चाल नपाउनेले
हराएको कसरी पत्तो पाउन सक्छ
अनि हराएकै चेत नहुनेले
आफूलाई कहाँ खोज्न सक्छ ?
अब जे होस,
तपाईं खोज्दै आउनु भो
म थिएँ भन्ने त पक्का भो
मलाई सायद भेट्टाउनुहोला
एउटा आशा ल्याउनु भो ।
 
अनि, एउटा फेवर पनि मागें महाशय,
मलाई कतै भेट्नु भयो भने,
भेटाईदिनुहोला एकचोटी मसँग
पहिले झैं मसँग म घन्टौं बात मार्न नसकुँला
तर एकचोटि हेरेरै भए पनि
मैले मेरै न्यास्रो मेट्नु छ
एकचोटि मैले मलाई जसरी भए पनि भेट्नु छ !

Leave a Comment

Your email address will not be published. Required fields are marked *