आफुलाई टटोल्दैनस तँ अरुलाई खोतल्छस्
अलिक मन परेन कि बिष मात्र ओकल्छस्
ढाँटेर होस या छलेर आफैं राम्रो बताउँछस्
मान्छे होस तँ मान्छे यस्तै जिवन कटाउँछस ।
आफ्ना सबै गल्ती ढाक्न झूठको पर्दा ओढ्दछस्
झुठै-झुठका बालिहरु मलजल गरी गोड्दछस्
षड्यन्त्रको जालो बुन्छस अरुलाई अल्झाउँछस्
मान्छे होस तँ मान्छे दुखेकै घाउ बल्झाउँछस ।
श्रोत सम्पती साराहरु आफैं कमाउँ भन्दछस्
लुटौं ठगौं जे नै गरौं आफैं जमाउँ भन्दछस्
धनको मदमा मात्तिएर मर्नै पर्दैन झैं गर्दछस्
मान्छे होस त्ँ मान्छे एकदिन पक्कै मर्दछस ।
केहि लान सक्दैनस तर तेरो र मेरो गर्दछस्
माया गर्न सक्दैनस र घृणाको बिज छर्दछस्
दिना परे तर्किन्छस लिन चाहिं अघी सर्दछस्
मान्छे होस तँ मान्छे घोर नरकमा पर्दछस ।